बैशाख ३, पोखरा,
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप अर्थात् एसिया कप छनोटका लागि टोली घोषणा गरेको छ । क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले यसपालि पनि टोलीमा कुनै परिवर्तन गरेको छैन । क्यानले लिग–२ को अन्तिम सिरिजमा यूएई र पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्ने टोलीलाई नै निरन्तरता दिएको हो ।
त्यस्तै, अर्जुन साउँद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो वैकल्पिक खेलाडीको रूपमा टोलीमा समावेश भएका छन् । कमल सिंह ऐरी, देव खनाल र मौसम ढकाल भने टोलीबाटै बाहिरिएका छन् । एसीसी प्रिमियर कप खेल्नुअघि नेपालले शनिबार ओमानविरुद्ध अभ्यास म्याच खेलेको थियो । सो खेल नेपालले ५ विकेटले जित्यो ।
एसीसी प्रिमियर कप मंगलबारदेखि सुरु हुँदैछ । नेपालले प्रतियोगितामा पहिलो खेल ५ वैशाखमा मलेसियाविरुद्ध खेल्ने तालिका छ । नेपालले दोस्रो खेल वैशाख ८ मा ओमानसँग, वैशाख ११ मा साउदी अरबसँग तथा वैशाख १४ मा कतारविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
यस समूहमा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइनले प्रतिस्पर्धा गर्नेछन् । समूहको शीर्ष दुईमा रहने चार टोली सेमिफाइनल पुग्ने छन् । उपाधि जित्ने टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।
एसीसी प्रिमियर कपका लागि नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र प्रतिश जिसी ।
वैकल्पिक खेलाडी : सन्दीप जोरा, किशोर महतो, अर्जुन साउँद र सूर्य तामाङ ।
प्रतिक्रिया लेख्नुहोस्:-