असार ९, शनिबार पोखरा,
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले यही असार ९ गते, शनिबार पोखरामा एक कार्यक्रम बीच तमु गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । प्रमुख अतिथि कादुरी एण्ड एग्रिकल्चर, गोर्खाज नेपाल, पोखराका टेक्निकल डाइरेक्टर डा. ई. नारायण गुरुङले प्रतिष्ठानले गरेको यो कार्यलाई प्रशंसा गर्दै आफू पनि सस्थासङ्ग आवद्ध रहन र समुदायको लागि केही सहयोग गर्ने भित्री चाहनाले अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । कष्ट र पीडापछि नै सफलता मिल्ने कुरालाई जोड दिदै आफू यो स्थानमा आइपुग्नको लागि धेरै दु:खहरु र समस्याहरु झेल्नुपरेको अनुभवहरु विद्यार्थीहरुलाई बाँड्नु भएको थियो । कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लमजुङको घाम्राङ र सिङ्दीका विद्यार्थीहरु गरि जम्मा ८३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष, सल्लाहकार, अक्षयकोषदाता तेज तमु, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मन्च अध्यक्ष तथा टप्स बोर्डिङ स्कुलका प्रिन्सिपल रत्नमान तमु, अन्नपूर्ण मा.वि. सिक्लेसमा अध्ययनरत विद्यार्थी तारा तमु, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमु लगायतले मन्तव्य राख्नु भएको थियो । तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमु, गुरुङ कलाकार संघ गण्डकीका महासचिव टसबहादुर तमु, मिडिया कर्मी बिनु थापा मगर, लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरु अभिभावकहरु र २०७७ देखि २०८०मा छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा औपचारिक कार्यक्रम पूर्व संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु र सदस्य लोकबहादुर तमुले विद्यार्थीहरुलाई “उत्प्रेरणामुलक अभिमुखिकरण” कार्यक्रम पनि सन्चालन गर्नुभएको थियो । अन्य जिल्लाहरुमा पनि यही असार मसान्तसम्म छात्रवृत्ति वितरण गरिसक्ने योजना रहेको जानकारी संस्थाका अध्यक्ष चित्रबहादुर तमुले दिनुभयो । बैशाख महिनादेखी विभिन्न जिल्लाका विभिन्न स्थानमा गएर प्रत्यक्ष छात्रवृत्ति छनौट परीक्षा संचालन गरि उत्कृष्टताको आधारमा विद्यार्थी छनौट गरिएको कुरा “विद्यार्थी छात्रवृत्ति छनौट समिती”का संयोजकको भूमिका निर्वाह गर्नु भएका संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सप्पन्न यस कार्यक्रम सचिव कन्चन तमुले सन्चालन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-