२८ भदौ, बिहीबार,
पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखरा, रानीपौवा स्थित तमु प्ये ल्हु संघमा बिहीबार एक महिने “छ्यँला तथा त्हौंदु वाद्यवादन प्रशिक्षण” कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का “बिखर्ची” ले सबै जाति, समुदाय, भाषा, कला र संस्कृतिप्रति आफ्नो सद्भाव रहेको प्रकट गर्दै गण्डकी क्षेत्र गुरुङ जातिको बाहुल्यता रहेको क्षेत्र भएको र यस समुदायको संस्कृतिको प्रवर्द्धन पनि यसै क्षेत्रबाट गर्न आफ्नो साथ र सहयोग सधैं रहने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले मन्तव्य राख्नुभएको थियो । संस्थाका प्रथम उपाध्यक्ष तथा यस प्रशिक्षण कार्यक्रमका संयोजक श्रीजङ तमुले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । विषेश गरि गुरुङ जातिको मृत्यु संस्कारमा नाचिने छ्याडु नृत्यमा बजाइने यस लोपोन्मुख बाजाको संरक्षण, संम्वर्द्वन र प्रवर्द्धनको साथमा पुस्ता हस्तातरण गर्न प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जानकारी संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङले दिनुभयो । तीस जना प्रशिक्षार्थीहरु सहभागी रहेको यस तालिमका प्रशिक्षकहरु पच्यु चिवा भिमबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र दानबहादुर गुरुङ हुनुहुन्छ । संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचीव कन्चन गुरुङले संचालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-