नेपाल सुनचाँदी व्यवसायी संघ ( केन्द्र) को नालीबेली ..!
– टुलक विश्वकर्मा
केन्द्रीय सदस्य, नेपाल सुनचाँदी व्यवसायी महासंघ
पृष्ठभूमि,
स्मृतिका पानाहरू पल्टाएर हेर्दा नेपालमा सर्वप्रथम चितवनमा २०४३ सालमा सुनचाँदी कला व्यवसाय समिति र काठमाडौंमा २०४४ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ ( केन्द्र) को स्थापना भएको थियो । २०६८ सालसम्म आइपुग्दा देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र देशको सांगठनिक संरचना बदलिएर प्रदेश, जिल्ला तथा नगरमा रुपान्तरित भएको थियो ।
उक्त परिवेशमा पुराना संरचनागत ढाँचामा चलिरहेका केन्द्र, शाखा, उपशाखा, इकाइको रूपमा संचालन भएका व्यवसायिक तथा सामाजिक संघ-संस्थाहरुले पनि आफ्नो पुरानो सांगठनिक स्वरुप बदलेर नगर संघ, जिल्ला संघ तथा प्रदेश संघ र सबै एकताबद्ध भइ राष्ट्रिय स्तरमा महासंघमा परिवर्तित हुन थालेपछि नेपाल भरका करिब ४० वटा जिल्लाहरूमा फैलिएको नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र) पनि महासंघमा रुपान्तरित हुनुपर्ने व्यवसायिक दबाब आई सकेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ फागुन २० गते स्थापना भएको थियो ।
यसरी नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र)लाई नै नेपाल सुनचाँदी व्यवसायी महासंघमा रुपान्तरण गर्ने सन्दर्भमा व्यवहारिक रुपमा तत्कालिन केन्द्र नै महासंघमा रुपान्तरित भएको भएपनि कानुनी रुपमै रुपान्तरण गर्न केन्द्रको नाममा भएको करिब ४०-४२ लाख नगद र कागजात तथा भौतिक सम्पत्ति पनि राज्यलाई बुझाउनुपर्ने प्रावधान भएकाले केन्द्रको व्यवस्थापन लागि दस्तावेज अध्ययन गर्दा सर्वप्रथम तत्कालिन केन्द्रका अध्यक्ष श्री तेजरत्न शाक्य ज्यूको अध्यक्षतामा बसेको २० सदस्यीय पदाधिकारीहरुको बैठकले केन्द्रको विषयमा ३ वटा निणर्यहरु गरेको पाईन्छ।
उक्त निणर्यको २ नम्बरमा स्पष्ट रुपमा २०६९ साल पौष १९ गते सम्पन्न केन्द्रको साधारण सभाले महासंघमा परिणत गर्ने निर्णय गरेको भएतापनि कानुनी अड्चनका कारण नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र) एक सदस्यको हैसियतमा उपस्थित हुन मिल्ने भन्ने उल्लेखित भएको पाइन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको २०६९ को विधानको परिच्छेद-३ को दफा ६ मा सदस्यको वर्गिकरण भित्र साधारण (जिल्ला/नगर), वस्तुगत, मानार्थ, श्रेयष्कर , एसोसिएट र विशिष्ट सदस्य मात्र भएकाले केन्द्रलाई कुनैपनि सदस्यता दिन सकिने व्यवस्था नभएकाले २०६९ साल फागुन १९ गते संस्थापक सदस्यको मान्यता दिने सहमति र सोहि वर्ष श्रावण महिनामा नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौंलाई जिल्ला संघ ‘ख’ र आश्विन महिनामा केन्द्रलाई जिल्ला संघ ‘क’ को सदस्यताको प्रमाणपत्र प्रदान गरिएको भन्ने जानकारी भयो।
तर जिल्ला संघ सरह मान्यता दिएको र आजपर्यन्त निर्धारित शुल्क रु १०००००-१५०००० तिरेर नवीकरण गर्दै आएको पाइएता पनि तर हुनपर्ने या उक्त केन्द्र जिल्ला संघमा रुपान्तरित भएको भए या त नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौंमा विलय (मर्जर) हुनुपर्थ्यो वा नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं नगर संघमा रुपान्तरित भएको हुनुपर्थ्यो अर्थात् केन्द्रनै नगर संघको रुपमा रहनु पर्थ्यो र सोही मुताविक जिल्ला वा नगर संघको जस्तै आफ्नो विधान संसोधन गरेको हुनुपर्ने हो तर केन्द्रले दुबै काम गरेको थाहा छैन।
बरु उल्टै नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं वा अन्य छिमेकी जिल्ला संघहरुमा दर्ता भएका फर्महरुलाई समेत पुनः आफ्नो फर्ममा दर्ता गरि विवादास्पद दोहोरो सदस्यताको आरोप लागिरह्यो । अन्तिम उदाहरणका रुपमा २०८० चैत २३ र २४ को महाधिवेशनका लागि जिल्ला संघको मान्यता पाएको केन्द्रले आफ्नो कार्यक्षेत्रको दायरा भन्दा बाहिरको छिमेकी जिल्ला काभ्रे ६७ सदस्य थप गरेर ल्याएको भन्ने आरोप छ । यस्तो अस्पष्टताको बीचमा पनि २०७० मा ९ जना, २०७३ मा ३ जना र २०७७ मा ७ जना बार्षिक साधारण सभा तथा महाधिवेशन प्रतिनिधि समावेश गरिएको थियो ।
तर माथि उल्लिखित मिति २०८० चैत्र १५ बसेको ४१ औं कार्यसमितिको बैठकमा शंकास्पद १०६० प्लस सदस्य संख्या पेश गरेर ४२ जना प्रतिनिधि दावी गरिएपछि विवादले चर्को रुप लिएपछि ७-८ घण्टाको लामो बहस पछि २०७७ साल पौष २४ गते सम्पन्न सातौं र आठौं बार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनका लागि तोकिएको ७ जना प्रतिनिधिलाई नजिर मानेर यो वर्ष हुने नवौं, दशौं र एघारौं साधारण सभा तथा चौंथो महाधिवेशनका लागि वहुमतले ७ जना प्रतिनिधि स्वीकार गर्ने निर्णय गर्यो । स्मरणीय रहोस् अध्यक्ष लगायत केहि पदाधिकारीहरुले असहमति जतायर “नोट अफ डिसेन्ट” दर्ज गरेको अवस्था पनि थियो। हाल सोहि प्रतिनिधिहरुको लागि पेश गरिएको सदस्यताको संख्या प्रति असहमती भएर नै केन्द्रसंग सम्बन्धित पक्षहरुले पाटन उच्च अदालतमा उजुरी दिइ स्टे अर्डर लिएर साधारणसभा र अधिवेशन अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरिएको हो।
केन्द्र विवादित हुनुको कारण
नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र) विवादित हुनुका कारणहरु देहाय बमोजिम छन् :
१)विवादित विधानः-
क) २०६९ साल आश्विनमा काठमाडौं जिल्लासंग “क” को प्रमाण पत्र दिइएको संस्थाको मिति २०६६/०३/१५ मा जारी गरिएको पछिल्लो संशोधित मौजुता विधानको प्रस्तावनामा नै यसको नेपाल अधिराज्यमा सुनचाँदी व्यवसायीहरु माथि आइपर्ने व्यवसायगत समस्याहरुलाई समाधान गर्न भनेर कार्यक्षेत्र नेपाल भर भएको स्पष्ट खुलाइएको छ ।
ख) राष्ट्रिय संस्था जस्तै धारा २ को (४)अनुसार शाखा, उपशाखा राख्न सकिने व्यवस्था कायम हुनु ।
ग) धारा ३ “ख” मा राष्ट्रिय स्तरको संस्थाको रुपमा परिभाषित गरिनुले यसलाई नेपाल सुनचाँदी व्यवसायी महासंघ सरह समानान्तर संघ भएको प्रष्ट हुनु ।
२)दोहोरो सदस्यता :-
२०७७ पौष २४ गतेको सातौं र आठौं बार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनका लागि १०५० सदस्य रहेको अभिलेख पेश गरेर महासंघ विधानको धारा १५ को “ख” अनुसार २५ बराबर १ जनाको दरले ४२ जना प्रतिनिधि माग गरियो र २०८० चैत्र २३ र २४ लागि हुने भनिएको नवौं, दशौं र एघारौं साधारण सभा तथा चौंथो महाधिवेशनका लागि १०६० जना सदस्यता पेश गरेर ४२ जना प्रतिनिधि माग गरियो।
यस विषयमा सम्बन्धित नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौंले जम्मा ७१२ जना सदस्य संख्या र प्रतिनिधि संख्या २९ जना निर्धारित छ । जबकि सोहि प्रकृतिको जिल्ला संघको संख्या भन्दा ३४८ जना बढी समेत पेश हुँदा दोहोरो सदस्यता भएको प्रमाणित हुनु ।
३) अतिरिक्त सदस्यता :-
एउटै जिल्लामा २ वटा जिल्ला संघ हुँदा सदस्यता दोहोरीएको मात्र नभइ काठमाडौं जिल्लाले पेश गरेको भन्दा ३४८ जना बढी देखिन आएकोले अन्य जिल्लाहरुको सदस्यता समेत थप गरि पेश गरिएको स्पष्ट छ। स्मरण रहोस् काभ्रे जिल्लाबाट ६७ जना सदस्य छ।
कारबाहीको प्रक्रिया:-
पहिलो कुरा त जुन प्रकारले २०६९ सालमा केन्द्रलाई एउटै जिल्ला काठमाडौंमा दुइवटा जिल्ला संघहरू दिइयो यो अपरिपक्कता त हुँदै हो । साथसाथै कार्यसमितिको निर्णय बिना प्रमाणपत्र दिनु संदिग्ध र गैह्र जिम्मेवारी त छ यसका अलवा आधिकारिकता माथि प्रश्न उठाउन सकिने प्रशस्त ठाउँ छ।
एउटै जिल्लामा दुई जिल्ला संघहरू हुनै नसक्ने विधानमा हुँदै नभएको कार्य गरियो । प्रष्ट दोहोरो सदस्यता, राष्ट्रिय संस्थाको विधान महासंघमा जिल्ला संघको सदस्यता , प्रमाण पत्रले निर्धारण गरेको परिधि र कार्यक्षेत्र भन्दा बाहिर जिल्लामा सदस्यता वितरण जस्ता विवादित विषयका कारण महासंघले विभिन्न समयमा केन्द्रलाई नियन्त्रण गर्ने र कारवाहीको प्रकृयामा लैजाने काम गरेको हो भन्ने जानकारी पाइयो ।
कारवाहीको लागि अगाडि बढाईएका प्रकृयाहरु देहाय बमोजिम थिए।
१) एकाएक २०७७ पुष २४ को सातौं साधारण सभा र तेश्रो महाधिवेशनका लागि नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं (केन्द्र)ले विवादास्पद १०५० सदस्यहरु ४२ जना प्रतिनिधिहरुको दावी पेश गरेपछि सो उपर साधारण सभाले व्यापक छलफल गरि सर्वसम्मत रुपमा मात्र ७ जनालाई आधिकारीक प्रतिनिधि स्विकार्ने र बाँकी सबैलाई पर्यवेक्षकको रुपमा कायम रहने निर्णय गरेको थियो। साथै उक्त सभाले गरेको निर्णय नं १ को क,ख,ग र घ मार्फत नयाँ बन्ने समितिको पहिलो बैठकले केन्द्रको जायजेथा महासंघमा बुझाउने र यसको खारेजीको बारेमा आवश्यक प्रकृया पुरा गरि ३ महिना भित्र कार्यान्वयन गर्न नवनिर्वाचित अध्यक्षको संयोजकत्वमा एउटा समिति गठन गर्ने निर्णय गर्यो। कथंकदाचित सो समयसीमा भित्र उक्त समितिले व्यवस्थापन गर्न नसकेमा ६ महिना पछि विशेष साधारणसभा बोलाई अन्तिम निर्णयका लागि प्रस्तुत गर्ने निर्णय गर्यो।
२) केन्द्र व्यवस्थापनका लागि गरिएका माथि १ नं बुँदा अन्तर्गतको केन्द्रले पाउने प्रतिनिधिका बारेमा आवश्यक थप छलफल र अन्य बिषयमा सहमति कायम गर्नका लागि २०७७ साल पौषमा अध्यक्ष श्री मोहनकुमार सुनार सहितको २० सदस्यीय प्रतिनिधि मण्डलले गरेको नम्वर १ निर्णयले पनि नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं (केन्द्र) ले पाउने प्रतिनिधि सातै जना र अन्य पर्यवेक्षकहरु कायम गर्यो।
३) माथि उल्लेखित निर्णय नं १ मुताबिक नवनिर्वाचित अध्यक्ष श्री माणिकरत्न शाक्यको संयोजकत्वमा बनेको १३ सदस्सीय केन्द्रको सम्पत्ति सदस्यता व्यवस्थापन समितिको मिति २०७९ वैशाख ५ गते सोमबारका दिन नक्साल स्थित नेपाल सुनचाँदी व्यवसायी महासंघको सचिवालयमा बसेको बैठकले उक्त विषय उपर छलफल गर्दा नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रस्तावनामा केन्द्र नै महासंघमा परिणत भएको देखिएको हुँदा केन्द्रलाई महासंघको विधान अनुसार महासंघको सदस्यमा कायम राखी रहन आवश्यक नदेखिएकोले केन्द्रलाई महासंघको सदस्यताबाट खारेज गर्ने निर्णय गरियो भन्ने निर्णय गरि नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं (केन्द्र)लाई महासंघको सदस्यताबाट सदाको लागि स्थायी रुपले खारेज गरेको अवस्था थियो।
४) माथि ३ नं मा गरिएको निर्णयलाई कार्यान्वयन गर्न केन्द्र व्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष के कति कारण अरुचि देखाउनु भयो वा आवश्यक थप निर्णय गर्न वा प्रकृया अगाडि बढाउनु किन चासो राख्नु भएन यो अर्कै बिषय तर ३ बर्षको गत कार्यकालको हरेक बैठकमा केन्द्रको विषयमा गरिसकेको निर्णयको कार्यान्वयन नै प्रमुख मुद्धा बनिरह्यो।
५) यसै परिप्रेक्ष्यमा मिति २०८० चैत १५ गते नक्साल स्थित महासंघको सचिवालयमा अध्यक्ष श्री माणिकरत्न शाक्य ज्यूको अध्यक्षतामा बसेको ४१औं कार्यसमितिको बैठकले मिति २०८० चैत २३ र २४ गतेका लागि महासंघको नवौं, दसौं र एघारौं वार्षिक साधारणसभा तथा चौंथो महाधिवेशन तोकिसकेको अवस्थामा सदस्यता खारेजीको निर्णय भइसकेको नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं (केन्द्र)ले पुन: २०७७ सालमा पेश गरेको सदस्यता संख्यामा १० सदस्य थप गरि सोहि मुताविकको प्रतिनिधि माग गरेको जानकारी आएपछि २०७७ सालकै साधारण सभाले गरेको निर्णयलाई नजिर मानेर ४ जना बाहेक उपस्थित मध्य लगभग ९६ प्रतिशतभन्दा बढीको दुई तिहाई बहुमतले यस पटकको लागि पनि ७ जना प्रतिनिधि स्वीकार गर्ने निर्णय गर्यो।
स्मरण रहोस् उक्त निर्णय चित्त नबुझेको असन्तुष्ट पक्ष नै हाल आफूहरुले दावी गरेको सदस्य संख्या र प्रतिनिधिहरु सदर हुनुपर्ने दावी गर्दै सम्पूर्ण कार्यसमिति, पदाधिकारीहरु, महासंघको कानुनी सल्लाहकार, महाधिवेशनका लागि नवनियुक्त निर्वाचन आयुक्त र जिल्ला प्रशासन कार्यालयलाई समेत प्रतिवादी बनाएर पाटन उच्च अदालतमा मुद्दा दायर गरि अर्को निर्णय नहुन्जेल सम्मका लागि पुर्व निर्धारित साधारण सभा तथा महाधिवेशन स्थगन गर्न स्टे अर्डर लिइएको हो ।
केन्द्र व्यवस्थापनका सम्भाव्यताहरु:-
१) पहिलो त विवादको जड बनेको केन्द्र बारे माथि वर्तमान अध्यक्ष श्री माणिकरत्न शाक्य ज्यूको संयोजकत्वमा बसेको १३ सदस्यीय केन्द्रको सम्पत्ति तथा सदस्यता व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं (केन्द्र)लाई महासंघको सदस्यताबाट खारेज गर्नु नै सबैभन्दा उपयुक्त र स्थायी समाधान हो।
२) महासंघले स-सम्मान विधान संसोधन गरि नोमिनल संस्थापक सदस्य, विधानको धारा १५ मा व्यवस्था भएको मतदानको अधिकार नभएको श्रेयष्कर वा मानार्थ सदस्य प्रदान गरेर व्यवस्था गर्ने।
३) काठमाडौं जिल्ला संघ पहिले नै अवस्थित रहेकोले केन्द्रलाई नगर संघको मान्यता दिइ सोहि प्रकृतिको संस्थाको रुपमा कायम राख्ने वर्तमान काठमाडौं जिल्ला संघलाई नगरमा रुपान्तरण गरेर लग्ने र केन्द्रलाई जिल्ला संघमा कायम राख्ने ।
४) महासंघसंग पूर्णरुपमा सम्बन्ध विच्छेद गरि स्वतन्त्र रुपमा २०६९ पूर्वको अवस्थामा लगि पुनः सक्रिय पारेर लग्ने।
५) महासंघको एउटा अंगको रुपमा कायम रहने एउटा उपसमिति बनाइ उक्त समितिले चलाउने तालिम केन्द्रको रुपमा स्थापित गर्ने ।
अन्तमा,
केन्द्रलाई नितान्त भोट ब्यांकको रुपमा अस्तित्वमा राख्न चाहने र केन्द्रलाई पर्दामा देखाएर आफ्नोे समुहगत, गुटगत, क्षेत्रगत स्वार्थ र आत्मसम्मानको खेती गरेर बस्नेे र संधै आफैलाई सुमेरू पर्वत ठानेर गणेशले झैं परिक्रमा गरिरहनु सिङ्गो सुनचाँदी व्यवसायी क्षेत्र भन्ठान्ने एक मुठ्ठी नेपथ्यका रिमोट कन्ट्रोलधारीहरुको चक्र व्यूहबाट सदाका लागि उन्मुक्ति पाउनको लागि यसै पटक स-सम्मान हाम्रो मातृ संगठनको रुपमा रहेको नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र)लाई विवादको जड बनाउने होइन श्रद्धाले शिर निहुंराउने र मन्दिर भित्र राखेर पुजा गर्ने देवता बनाएर सजाएर राख्ने गरि व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता हो ।
जय सुनचाँदी
प्रतिक्रिया लेख्नुहोस्:-