पोखरा – आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा अर्जुन कुमाल र सुस्मिता थापा मगरले वर्षोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन्।
शुक्रबार पोखरा सभागृहमा भएको कार्यक्रममा पुरुषतर्फ क्रिकेटका कुमाल र महिलातर्फ आइटिएफ टेक्वान्दोकी मगरले अवार्ड जितेका हुन्। वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फको मनोनयनमा क्रिकेटका कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी अटाएका थिए।
वर्षोत्कृष्ट महिलातर्फ मगरसँगै मनोनयनमा भलिबलकी अरुणा शाही र आर्चरीकी अनुष्का शेरचन परेका थिए। वर्षोत्कृष्ट खेलाडी महिला तथा पुरुषले टेलजीको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेका छन्।
उदयमाान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलसा रानाको पोल्टामा पर्यो। उत्कृष्ट तीन मनोनयनमा रानासँगै क्रिकेटकी ज्योत्सीका मरासिनी र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए।
वर्षोत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले हात पारे। उत्कृष्ट प्रशिक्षकको मनोनयनमा भलिबलका केसीसँगै टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजु समावेश थिए।
यस्तै, उत्कृष्ट खेल संघको अवार्ड सहारा क्लब पोखराले प्राप्त ग¥यो। उत्कृष्ट खेल पत्रकारको अवार्ड नयाँपत्रिकाकर्मी रोहितराज पराजुलीलाई प्रदान गरिएको छ।
उदयमान खेलाडी, वर्षोत्कृष्ट प्रशिक्षक, खेल संघ र खेल पत्रकारले अवार्डसँगै ३५ हजार रुपैयाँ हात पारेका छन्।
लाइफ टाइम अचिभमेण्ट अवार्ड एथलेटिक्सकी प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिएको छ। उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-