साउन, ३० स्याङ्जा। सहकारीको रकम हिनामिना गरेको आरोपमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. को बिरुवा सेवा केन्द्रको ठूलो रकम हिनामिना गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । रकम अपचलन भएको घटना बाहिरीएपछि सहकारीको आन्तरिक अनुसन्धानमा ३ करोड ६६ लाख रुपैयाँ अपचलन भएको भेटिएको श्रोतले दाबी छ ।
पक्राउ पुर्जी जारी हुनेमा कुँवर सहित सहकारीका बिरुवा सेवा केन्द्रका अध्यक्ष तारेन्द्र बहादुर के.सी. र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेको छ। कुवर अहिलेसम्म सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । सहकारीका अध्यक्ष तारेन्द्रबहादुर केसी, मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिकामा कार्यरत सन्ध्या भण्डारीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । सहकारीका प्रबन्धक जीवन वाग्लेलाई भने १९ दिन पहिले पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानमा सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेले २०७४ देखि सहकारीमा भएको रकम अपचलन घटनामा गाउँपालिकाका अध्यक्ष कुँवर सहितका व्यक्ति संलग्न रहेको बताएपछि उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरी श्रोतले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कुँवरले २०७४ को स्थानीय निर्वाचनका समयमा कागजात बिना रकम लगेर अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । स्थानीय सर्वसाधारणबाट सहकारीमा संकलित मोटो रकम अपचलन भएपछि सूर्योदय सहकारीकै प्रबन्धक ध्रुब नारायण श्रेष्ठ समेतको जाहेरीमा उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरीको भनाई छ ।
पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट ईडिटिङ् गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गर्ने गरेको खुलेको छ । आमसर्वसाधरणको रकम अपचलन गर्नेलाई कडा कारबाही गर्न सहकारीका बचतकर्ताले आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-