वैशाख २३, बिरुवा स्याङ्जा,
स्याङ्जाको बिरुवा प्रज्ञा प्रतिष्ठानले मौलिक संस्कृतिको प्रदर्शन सहित वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार वृहत सांस्कृतिक कार्यक्रम गरी प्रतिष्ठानले ऐतिहासिक र मौलिक संस्कृति संरक्षणमा कदम अगाडि बढाएको छ ।
कार्यक्रममा पालिकामा रहेका आठ वडाले छुट्टाछुट्टै र पूराना मौलिक सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले अनेकतामा रहेका भाषा, कला र संस्कृतिलाई एकतावद्ध गरेर जाने बताउनुभयो । अध्यक्ष कुँवरले बिरुवा गाउँपालिका ऐतिहासिक तथा मौलिक कला र संस्कृति रहेको पालिका भएकाले अनेकतामा एकतावद्ध गराएर जाने बताउनु भयो । उहाँले भन्नुभयो, “अनेक भाषा, कला र संस्कृति रहेको देशका नागरिक हौं । बिरुवा गाउँपालिका पनि विविध कला र संस्कृति भएको पालिका हो । विद्यमान अनेकतामा रहेका मौलिक कला र संस्कृतिलाई एकतावद्ध गरेर बिरुवा गाउँपालिका अगाडि बढ्न प्रतिवद्ध छ ।”
यी संस्कृति हाम्रा पहिचान हुन्, यिनीहरुलाई जोगाउँदै र पुस्ता हस्तान्तरण गर्दै जानुपर्छ । यो कार्य हाम्रा लागि प्रेरणादायी हुनेछन्, उहाँले भन्नुभयो फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने प्रतिष्ठानको कार्यक्रमले देखाएको छ । सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने पालिकाको नीति रहेको र आफ्ना ऐतिहासिक कला र संस्कृतिलाई पनि जोगाउँदै सँगै अगाडि बढाइनेमा अध्यक्ष कुँवरले जोड दिनुभयो । प्रतिष्ठानले गरेको यो कार्यक्रम एक पटकका लागि मात्र नभएर निरन्तरता दिँदैजान गाउँपालिकाले सधै साथ सहयोग गर्दैजाने उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी प्रतिष्ठानका अध्यक्ष शङ्कर विरही गुरुङले बिरुवा गाउँपालिकाका कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पु¥याउने आँफ्नो सपना रहेको बताउनुभयो । अध्यक्ष गुरुङले यो पहिलो कार्यक्रम रहेको र अब प्रत्येक वडा र टोलमा रहेका कला एवम् संस्कृतिलाई दस्तावेजिकरण गर्दै लैजाने व्यक्त गर्नुभयो । मनैदेखि हाम्रो कला, संस्कृति र साहित्यको विकासमा लाग्ने भन्दै अध्यक्ष गुरुङले ऐतिहासिक एवम् मौलिक संस्कृति संरक्षण गर्ने कार्यमा गाउँपालिकाले सहयोगी भूमिका खेल्ने छ भन्ने प्रतिष्ठान विश्वस्त रहेको व्यक्त गर्नुभयो ।
वृहत सांस्कृतिक कार्यक्रममा पालिकाका वडाले छुट्टाछुट्टै प्रस्तुति राखेका थिए । यस अन्तर्गत वडा नम्वर १ ले रत्यौलीगीत देखाएको थियो भने वडा २ ले ठाडो भाका र ३ ले लामा घाँटु प्रस्तुत गरेको थियो । यसैगरी वडा नम्वर ४ ले लोक भजन तथा कौडा र ५ ले बालन नाच प्रदर्शन गरेको थियो । यस्तै वडा नम्वर ६ ले झोरा, ७ ले गुरुङ समुदायमा रहेका घाँटु तथा छ्याटु र ८ ले ख्याली गीत र नाच देखाएको थियो ।
“हाम्रो बिरुवा हाम्रो शान, लोक संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नारासहित वडा नम्वर ८ स्थित मेथा भुरुङमा विविध लोक संस्कृतिको प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रम गरिएको हो ।
यीनै मौलिक कला र संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पुयाउँने र पुस्ता हस्तान्तरण गर्न सकियोस भन्ने हेतुले गाउँपालिकाका विविध सांस्कृतिक कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-