पोखरा । यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । भेन्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्यालयमा छात्राहरुलाई भेन्डिङ मेसिनले प्याड वितरणमा मितब्यायीता कायम गर्ने वताए । छात्राहरुले महिनावारीको वेलामा अझैपनि आफ्नो समस्याहरु खुलेर भन्न नसक्ने अवस्था आइरहदा अत्याधुनिक मेसिनबाट आफैले प्याड झिक्न सकिने भएकाले पनि यसले छात्राहरुको पढाइलाइ थप उर्जा दिने उनको भनाइ रहेको थियो ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य हरि प्रसाद बासतोलाले सेनेटरी प्याड भेन्डिङ मेसिनको मूल्य भन्दा महत्व वढी रहेको वताउदै जानकी मावि मा अध्ययनरत विद्यार्थीहरुले सिक्दै कमाउदै कार्यक्रम मार्फत बांसका सामाग्रीहरु निर्माण गर्दै आइरहेको र त्यसको उपयोग र बजारीकरणका लागि यूनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा स्टल राखेर त्यसको प्रवद्र्धन गरिदिन समेत आग्रह गरे ।
यूनाइटेड क्लबका पुर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लब १४ आंै वर्ष सम्म आइपुग्दा पोखरा महानगरको ३३ वटै वडाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेका वताए । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेकोमा यसपटक पोखरा १७ महतगौडामा रहेको जानकी माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरि प्रदान गरिएको सेनेटरी प्याड भेन्डिङ मेसिनले छात्राहरुको स्वास्थ्य संगै अध्ययनमा सहायता पुग्ने विस्वास ब्यक्त गरे ।
विद्यालयका प्रध्यानाध्यापक अर्जुन कंडेलले यूनाइटेड क्लबले प्रदान गरेको भेण्डिङ मेसिन मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड सहजै प्राप्त गर्न सक्ने भएकाले छात्राहरुलाई कुनै झण्झट ब्यवहोर्न नपर्ने र उनीहरुको पढाइलाई समेत सहायता पुग्ने वताउदै यूनाइटेड क्लबको सामाजिक कामको प्रशंसा गरे ।
सो अवसरमा वोल्दै क्लबका कार्यसमिति सदस्य तथा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण कार्यक्रमका संयोजक जयराम आचार्यले नेपालमै बनेको अत्याधुनिक भेन्डिङ मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउदा खुसी लागेको वताए । मेसिनको संरक्षण गर्न तर्फ समेत विद्यालय परिवारलाई उनको आग्रह रहेको थियो ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लवले सेती नदी संग जोडिएका वडाहरु संग सहकार्य गरेर आफुहरु सेती नदीमा पर्यटकीय गन्तब्य स्थल निर्माण गर्न तयार रहेको वताउदै त्यसका लागी पोखरा महानगरपालिका वडा नम्बर १७ संग समेत सहकार्य गरेर अगाडी वढ्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए । यसैगरी क्लबको साताब्यापी कार्यक्रम अन्तर्गत बुधवार पोखराको अमरसिंह चौरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । सो रक्तदान कार्यक्रममा पोखराका संचारकर्मीहरुलाई समेत सहभागीता जनाउन महासचिव सुनारले आग्रह गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-