पोखरा । राजनीतिक पार्टीहरुले एन.जि.ओ. र आई.एन.जि.ओ.को प्रभावमा परी नयाँ सामाजिक प्रथा ल्याउन प्रयत्न बारम्बार गर्दै आईरहेका छन् । तर सस्तो लोकप्रियता र डलरवादी संघ संस्थाको प्रभावमा परि ल्याउन खोजिएका प्रथाहरु त्यति प्रभावकारी सावित हुन सकेनन् । २०६२/०६३ को आन्दोलन पश्चात चलाउन खोजिएका प्रचलनहरु जुन रकमको लेनदेन संग सम्बन्धित थिए त्यस्तो चलन चलाउन खोज्ने सरकारको त्यति वेलाको निर्णय अहिले हाँसो लाग्दो उरन्ठेउलो कदम जस्तो ठानिएकोछ ।
१० वर्षे हिंसात्मक जनयुद्धकालमा माओवादीले आफ्ना कार्यकताहरुको बीचमा अन्तरजातीय विवाह गराउने प्रचलन गराए अनुसार धेरै छापामार एवं दलित बीचको विवाहलाई प्राथमिकता दिइएको थियो । दलित र गैर दलित वीच गरिएको विवाह करिव शतप्रतिशत जति नै असफल भएभने छिटपुट २/४ जना बाँकी रहेकाहरु समेत अहिले माओवादी पार्टीबाटै अलग भएकाछन् । अन्तरजातीय विवाह त माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशबाटै शुरुमै तोडिएको थियो भने अन्यले पनि क्रमश त्यसलाई तोड्दै लगे ।
जनयुद्धकालमा पार्टीले गराईदिएका विवाहहरु करिव ९८ प्रतिशत असफल भए । माओवादीले गरेका सुधारको नक्कल गर्दै एमालेले गर्न खोजको काम पञ्चतन्त्रमा बाँदरले दाह्री काटे जस्तै हुन गयो । कटुवाल काण्ड पश्चात सत्ताबाट प्रचन्ड हटेपछि प्रधानमन्त्री बन्न पुगेका माधव नेपालले दलित र गैर दलित बीचको विवाहलाई प्रोत्साहित गर्न पुरस्कारको समेत राज्यस्तरबाट व्यवस्था गरिदिए । यस्तो खालको विवाह गर्ने दम्पतीलाई तत्कालै १ लाख पुरस्कार जुन एक किसिमको उपहार नै थियो, त्यसको रौनक उत्कर्षमै पुग्यो । एकलाख पाउने लोभमा धेरै विवाह बन्धनमा बाँधिए । संभवत शहरका कुनाकाप्चामा एउटा सानो सानो घडेरी आउने पैसा थियो त्यो । एकलाख रकम बुझेर जोडाजोडीहरु केहीदिन संम आनान्दपुर्वक घुमफिर त गरे तर उक्त रकम सिद्धिएपछि ति जोडाजोडी कहिल्यै पनि नजोडिने गरि छुट्टिए ।
कतिपय जोडाजोडीले उधारो उपहार वा पुरस्कारमा विवाह गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट विवाहको प्रमाणपत्र पाएपनि पछिल्लो चरणमा बजेट नआएको भनि पुरस्कार दिन छाडिएपछि धेरै युवायुवती पछुताए । आखिरमा भावनात्मक रुपमा नभै प्रलोभनमा गरिएका विवाहहरु टिक्दैनन् भन्ने यसबाट देखियो । जनस्तरबाट विधवा (एकल) महिलाहरुले रातो पोशाक लगाउन चलाएको अभियानले भने सार्थकता पायो ।
पोशाक धर्म सँग त्यति सम्बन्धित थिएन र कुनै वेला रंगको प्रभावलाई मध्यनजर गरी विधवा (एकल) महिलालाई रातो पोशाक र रंगलाई प्रयोग गर्न तत्कालिन समाजले लगाएको रोक थियो । रातो रंगलाई (यौन) उत्तेजनाको प्रतीक मानिन्छ भने सफेद (स्वेत) रंगलाई इन्द्रिय, मष्तिष्कलाई शान्त राख्न सघाउने रंगको रुपमा लिइन्छ । यो मान्यता नेपाल भारतमा मात्र नभै विश्वव्यापी रुपमा रहेकोछ । चिकित्सकहरुले प्रयोग गर्ने एप्रोन सेतो रंगको हुनुमा उपचार एवं सेवा कार्य गर्दा शान्त भएर गर्न बल मिलोस् भन्ने रहेकोछ । राजनीतिक पार्टीहरु र विशेष गरी क्रान्तिकारीहरुले जोश र उत्तेजना बृद्धि गर्ने रातो रंगको प्रयोग गर्नुको उद्देश्य पनि यही हो ।
जेहादीहरुले कालो रंगको प्रयोग गर्नुको उद्देश्य दायँवायाँ सोच्न, तर्कवितर्क गर्नबाट रोक लगाउने रंग (मुर्खताको प्रतीक) भएकोले हो । अहिले फ्रायड र माक्र्स मुर्लाेको दर्शनले गास, बास, कपास र सहवाशलाई मानवीय आधारभुत आवश्यकता अन्तर्गत गरेको व्याख्या विश्लेषण एथेन्टिक सावित भएकोछ । अन्ध धर्मभीरुहरुले यौनलाई जुन रुपमा ब्याख्या गरेका तर स्वयम आफु भने त्यसको विपरितमा रहेकाछन् । अहिले रंगको प्रभावको के कुरा यौन उत्तेजना बढाउन यावत खालका महंगा औषधिहरु नै उत्पादन र सहज रुपमा बजारिकरण भैरहेकाछन् । यसको बारेमा चर्चा यति गरे पुग्ला ।
एन जि.ओ. र आई एन.जि.ओ का सञ्चालकहरुको प्रभावमा परी माओवादीले त्यति वेला भन्दै आएको माधव नेपाल नेतृत्वको कठपुतली सरकारले विधवा विवाहलाई पनि पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको थियो । तर सो घोषणालाई विधवा (एकल) महिलाहरुले नै व्यापक विरोध गरेको हुनाले कार्यान्वयनमा आउन सकेन । आफ्ना स–साना बालवालिका छाडेर विवाह गरेका महिलाहरुको संख्या जति बढाउन सक्यो उती नै सडक बालवालिकाको संख्या बढ्ने र विशेष गरी सडक बालबालिकाको नाममा एन.जि.ओ र आई.एन.जि.ओ खोली डलर ल्याइरहेका संस्थाहरुको प्रभावमा परी सरकारले विधवा विवाहलाई प्रोत्साहन र पुरस्कार गर्ने कार्यक्रम ल्याएको थियो । विवाह गरी अर्काे पुरुष सँग घरजम गरेपछि पहिलाका पुरुषले जन्माएका बच्चाहरुलाई दोश्रो पुरुषले नस्वीकार्ने र आमाले छाडेर गएपछि ति बालबच्चाहरु सडकमा आउने गरेका दृष्टान्तबाट हौशिएर डलरवादीहरुले सरकारलाई त्यस्तो घोषण गर्न लगाएका थिए ।
Machhapuchare News Weakly
प्रतिक्रिया लेख्नुहोस्:-