११ श्रावण, पोखरा
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको बताए।
कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।
एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।
०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो। यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।
कसरी हेर्ने नतिजा ?
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ । नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी परीक्षा नियन्त्रक कार्यालयले दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-