६ असोज, पोखरा
एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।
१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए । चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो । त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।
एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए । कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।
कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ । एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो । प्रविधिको शहरको रुपमा चिनिने हान्झाउलाई पहाड र तालको शहर समेत भनिन्छ । वेस्ट लेक यहाँको चर्चित ताल हो ।
उद्घाटन समारोहको मार्चपासमा वीरबहादुर महरा र निमा घर्ती मगरले नेपालको झण्डा बोकेका थिए । एक-एक महिला र पुरुष खेलाडीले मार्सपासमा झण्डा बोक्ने नियम अनुसार तेक्वान्दोका वीरबहादुर र उसुकी निमाले नेपालको झण्डा बोकेका हुन् । दुवैले २०१९ मा नेपालमा भएको १३ औं सागमा स्वर्ण जितेका थिए ।
यस पटकको एसियाडमा नेपालको सहभागिता विगतको भन्दा ठूलो छ । १९औं एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका छन् । जसमा १२७ महिला र १२६ पुरुष छन् । यसपटकको प्रतियोगितामा प्याराग्लाइडिङ खेल समावेश छैन । १९औं एसियाडमा अहिलेसम्मकै धेरै खेलाडी उतारेको नेपालले केही खेलबाट पदक जित्ने आशा राखेको छ । जसमा मार्सल आर्टका तेक्वान्दो, बक्सिङ र करातेसहित नयाँ खेलहरु ब्रेकिङ डान्स, इ स्पोर्ट्स लगायतबाट पनि नेपालले पदक आशा गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-