पाेखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गरिएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेर नेपालकै अत्यन्त सुन्दर सहर पाेखरालाई आज बाराहीघाटमा अायाेजित विशेष कार्यक्रमकाबीच पर्यटन राजधानीका रुपमा घाेषणा गरेका हुन् ।
साे कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका अन्य मुख्य शहरमध्ये पाेखरा बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त शहर भएको बताएका छन् ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै यसले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताएका छन् ।
उनले यस ठाउँबाट देखिने सुन्दर हिमश्रृङ्खलाका दृश्य, तालतलैया, मन्दिर, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता मात्र नथपि यसले समग्र राष्ट्रकाे आर्थिक विकास र सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पुर्याएकाे समेत बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् ।
त्यस्तै उनले प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल र समन्वय गर्ने पनि बताएका छन् ।
यसैबीच प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए ।
उनले पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकारले आवश्यक पहल गर्ने पनि बताए ।
यस्तै आगामी महिना आयोजना हुने लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
विशेषगरी पाेखरालाई पर्यटनकाे राजधानी घाेषणा गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले निरन्तर दबाब सिर्जना गर्दै आएको थियो ।
प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।
समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।
विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-