20 साउन, पोखरा ।
अस्थायी ल्यान्डफिल साइटका बासिन्दाको अवरोधका कारण पोखरा महानगरको फोहोर ९ दिनदेखि उठ्न सकेको छैन । फोहोर नउठ्दा पोखराका मुख्य सडक तथा चोकचोकमा फोहोरको थुप्रो लागेको छ ।
महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीय आन्दोलित भएपछि फोहोर उठ्न छोडेको हो । फोहोर विसर्जनपछि तत्कालै माटोले पुर्ने, दुर्गन्ध रोक्न विषादी छर्कनुपर्ने, ल्यान्डफिल साइटमा फोहोर वर्गीकरण गर्न नपाइनेलगायत सहमति लागू नभएको भन्दै स्थानीयबासिन्दाले बुधबारदेखि फोहोर फाल्न रोक लगाएका हुन् ।
असन्तुष्ट स्थानीयसँग महानगर प्रमुख, उपप्रमुखसहितको टोली बिहीबार स्थानीयसँग वार्ता गर्न पुगेको थियो । तर, स्थानीयले फोहोर फाल्न नदिने आफ्नो अडान नछाड्दै महानगरको टोलीलाई नाराबाजी गर्दै कालोझन्डासमेत देखाएका थिए ।
महानगर प्रवक्ता मोति तिम्सिनाले बिहीबार भएको स्थानीयसँगको वार्ता बिना निष्कर्ष टुंगिएको जानकारी दिए । उनले शुक्रबार पनि सर्वदलीय बैठक बसेको तर, टुंगोमा पुग्न नसकेको बताए ।
फोहोर व्यवस्थापन नगरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि महानगरले केही दिन मुख्य बजार क्षेत्रका सडकमा फालिएको फोहोर संकलन गरेको थियो । संकलित फोहोरलाई गाडीमै राखेर महानगरको दमकल शाखाको प्रांगणमा राखिएको छ । तर, अहिले फोहोर बोक्ने गाडीसमेत भरिएकाले सडकका फोहोर उठ्न छाडेको छ ।
पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-