हुम बहादुर गुरुङ, स्याङ्जा, कार्तिक ७
स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेस्थित मनकामना मन्दिर परिसरमा तेस्रो मनकामना महोत्सव–२०८३ आयोजना हुने भएको छ। धार्मिक पर्यटन, सांस्कृतिक सम्पदाको संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले मनकामना मन्दिर व्यवस्थापन समितिको आयोजनामा महोत्सव आयाेजना गरिएकाे हाे ।
आयोजकले सार्वजनिक गरेको कार्यक्रमअनुसार महोत्सव कात्तिक ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा नवनिर्मित मन्दिरको उद्घाटन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, कृषि तथा हस्तकला प्रदर्शनी र क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्।
महोत्सवको मुख्य आकर्षणका रूपमा दोस्रो हेमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार रुपैयाँ, द्वितीय हुने टिमले १ लाख १ हजार रुपैयाँ तथा तृतीय हुने टिमले ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर तथा अनुशासित खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन टिमले १० हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ ।
हाल सम्म आयाेजक सहित ६ टिमकाे सहभागीता रहनेछ । जसमा युनाईटेड क्लब पाेखरा, आँधिखाेला पिस युनाईटेड क्लब बयरघारी, बिधान स्पाेर्ट हाउस वालिङ, बालकन्य युवा क्लव बिरुवा, शाही फलफुल वालिङ र आयाेजक रहेकाे छ ।
कात्तिक ८ गते महोत्सवको समुद्घाटन, कात्तिक ९ गते कोजाग्रत पूर्णिमाका दिन मन्दिर उद्घाटन, कात्तिक १० गते भलिबल प्रतियोगिताको उद्घाटन तथा कात्तिक १३ गते महोत्सवको समापन हुनेछ।
महोत्सव अवधिभर राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम, सोरठी, कौडा, पञ्चेबाजा, लाइभ दोहोरी तथा हाँस्यव्यङ्ग्य कार्यक्रम सञ्चालन हुनेछन्। साथै कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, शैक्षिक प्रदर्शनी र स्थानीय क्लब तथा आमा समूहका प्रस्तुतिहरू पनि रहनेछन् ।
महोत्सवले बिरुवा क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई व्यापक बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण र आर्थिक गतिविधिमा वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मनकामना मन्दिर परिसर, गहतेमा आयोजना हुने महोत्सवमा स्थानीयवासी, खेलप्रेमी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालालाई सहभागी भई कार्यक्रम सफल बनाउन आयोजक द्वारा अनुराेध गरिएकाे छ ।















प्रतिक्रिया लेख्नुहोस्:-