पोखरा | गोरक्षनाथलाई गोरखनाथ पनि भन्न थालिएकोछ । उनी कहिले जन्मे र कहिले दिवंगत भए त्यसको बारेमा स्पष्ट जानकारी दिने प्रमाण र तथ्य अहिले सम्म प्राप्त हुन सकेका छैनन् । अहिलेसम्म उनी जीवितै रहेको भन्ने किंवदन्ती पनि रहेकोछ । भगवान शिवको अवतारको रुपमा गोरक्षनाथलाई लिईने गरिएकोछ । गोरखनाथ नाथ सम्प्रदाय अन्तर्गतका थिए वा थिएनन् त्यसको पनि स्पष्ट प्रमाण प्राप्त हुन सकेको छैन । गिरी, पुरी, भारती, वन आदि दशनामी सम्प्रदाय अन्तर्गत नाथ सम्प्रदाय रहेको मानिन्छ । गोरखनाथको मुलअधिष्ठान हिमालय प्रान्त रहेको विद्धानहरुको अभिमत रहेकोछ । हिमालय प्रान्त अन्तर्गत कामाख्य क्षेत्र देखी बद्रीकेदार सम्म गोरक्षनाथको विषयमा अनेकौ भनाईहरु रहेकाछन् ।
नाथ सम्प्रदायकोतपोभुमि नेपाल नै हो भनिन्छ । कहिलेकाँही भारतमा पनि गोरक्षनाथ प्रकट हुने चर्चा चल्ने गर्दछन् । मत्स्येन्द्रनाथको आशिर्वादबाट
गोरक्षनाथ प्रकट भएको थिए । उनी अयोनिज अर्थात नजम्मेको भनिएकोछ । मत्स्येन्द्रनाथ शिवको आशिर्वादबाट पृथ्वीमा आएका थिए । भृगु बंशीय ब्राहमण कुलमा सुन्दर वालक भए । नौ वटा सिद्धिबाट नारायण र शिवको इच्छानुसार ति ब्राहमणका घरमा बालकको जन्म भएपछि आमा बाबु दुवै अति हर्षित भए । तर अनिष्टकारक गण्डान्त नक्षत्रमा जन्मेकोले पिताले समुद्रमा फ्याँकिदिए । ति वालकलाई माछाले निल्यो तर शिवको आशिर्वादले माछाको पेटमा उनी जीवितै रहे र त्यही रहेर शिवको तपस्या गरे । शिवको तपस्या गर्दागर्दाै धेरै वर्षहरु विते । समुद्रतटमा भ्रमणको क्रममा शिवले माछाको कोखमा बालकलाई देखे । शिवले माछाको मुखहुदै वाहिर निस्कन भनेपछि उनी बाहिर निस्के । शिवजीको ध्यान गरेको हुनाले उनी शिद्ध र शिवको आशिर्वादबाद मत्स्येन्द्रनाथ भए ।
मत्स्येन्द्रनाथ भिक्षाटनको लागी गाउँ गाउँ पुग्द एकदिन एउटी गृहिणीले खिन्न मुख गरी भिक्षा दिए र मत्स्येन्द्रनाथलाई एकटकले हेरिरहिन् । उनको चिन्तित र खिन्न अनुहार देखेर मत्स्येन्द्रनाथले चिन्तीत र खिन्न हुनुपर्ने कारण सोधे । उनले आँफु पुत्रहिन भएकाले चिन्तित भएको कारण बताईन् । उनको कुरा सुनेपछि मत्स्येन्द्रनाथले खरानीलाई अभिमन्त्रण गरेर लगाउन र खान भनि दिए । सिद्ध त्यहाँबाट गएपछि उनले त्यो खरानी खान र लगाउन विर्सिइन् । एकदिन आफ्नी सखीसँग यसको बारेमा यथार्थता बताईन् । सखीले उनको कुरा सुनेर हाँस्दै कहाँको खरानी खाएर पनि सन्तान उत्पत्ती हुन्छ र भन्दै हस्सिमा उडाईदिईन् । उनले त्यसपछि त्यो खरानीलाई गाईको गोबरमा फ्याँकिदिईन । बाह्र वर्ष पछि सिद्ध धुम्दै फिर्दै त्यही घरमा आएर सन्तानोत्पत्ति सम्बन्धमा सोधे । गृहिणीले यथातथ्य बताएपछि सिद्ध गोबर रहेको (मलखाद) स्थानमा गएर बालकलाई बोलाए । त्यहाँबाट बाह्र वर्षको बालक निस्क्यो । त्यसपछि मत्स्येन्द्रनाथले ती बालकलाई दीक्षा प्रदान गरी शिष्य बनाए । यसरी नै गोरक्षनाथको जन्म भयो भन्ने कहावत् रहेकोछ । नाथ सम्प्रदायमा आदिनाथ, मत्स्येन्द्रनाथ, गोरक्षनाथ आचार्यहरु शिद्ध भए । गोरखनाथका जालन्धरनाथ, कानिफानाथ, चर्परीनाथ, भरतनाथ, शिवनाथ, भतृहरिनाथ, रेवणनाथ र गहिनीनाथ शिष्यहरु भए ।
लिच्छवीकालमा गोरक्षनाथ काठमाण्डौ आए । उनको परिचय नखुलेकोले कसैले चिनेन् र कसैले पनि सम्मान गरेनन् । आँफुलाई कसैले वास्ता नगरेपछि योगीराज क्षुब्ध भए र नागहरुलाई खिचेर आसन वनाई समाधिस्थ भए । त्यसपछि काठमाण्डौमा भयंकर खडेरी प¥यो । विज्ञहरुले तान्त्रिकहरुको सहारा लिई बास्ताविकता बुझ्न खोजे । तान्त्रिकहरुले गहन अन्वेषण गर्दा एउटा योगी नागहरुलाई खिचेर आशन बनाई तपस्यारत रहेकोले नागहरुको मुक्ति नभएसंम्म वर्षा नहुने, योगीको तपस्या भंग नभएसंम्म समाधिबाट उनी नउठ्ने र नागहरु पनि स्वतन्त्र नहुने थाहा भयो । तपस्वीलाई बलपूर्वक तपभंग गर्न नहुने र उनको गुरुलाई त्यहाँ ल्याईएको खण्डमा गुरुको सम्मानमा उठेपछि नागहरु स्वतन्त्र हुन पाउने तव मात्र वर्षा हुने संभावना देखेर गुरुको पहिचान र वासस्थानको खोजी गर्न थालियो । गोरक्षनाथको गुरु मत्स्येन्द्रनाथ कामाख्यादेशमा रहेको थाहा लागेपछि त्यहाँ गएर अनुनय विनय गरी मत्स्येन्द्रनाथलाई काठमाण्डौ ल्याइयो । गुरुको आगमन भएपछि गोरक्षनाथ उठे, त्यसपछि नागहरु स्वतन्त्र भए । काठमाण्डौमा वर्षा शुरु भयो ।
त्यसैवेला देखी काठमाण्डौ उपत्यकामा प्रतिवर्ष रातो मत्स्येन्द्रनाथ र सेतो मत्स्येन्द्रनाथको रथयात्राको प्रचलन भएको भनाई रहेकोछ । नेपालका विभिन्न स्थानहरु गोरखा, दाङ, जुम्ला, पाल्पा पशुपती क्षेत्रकोश्लेषमान्तक वनमा गोरक्षनाथका प्रसिद्ध पीठहरु रहेकाछन् । चौध भन्दा अधिक जिल्लाहरुमा गोरक्षनाथका पीठहरु रहेकाछन् । दाङ जिल्लामा रहेको पीठमा तेह्रसय वर्षको इतिहास उपलब्ध भएकोछ । जुम्ला जिल्लाको चन्द्रनाथ पीठमा पन्द्रसय वर्ष पुरानो इतिहाँस उपलब्ध भएकोछ । दाङ जिल्लाको नाथ मन्दिरबाट प्रसाद लिएर भारतको पाटनादेवी यात्रा चल्दछ । गोरक्षपुरका महन्तलाई ल्याएर दाङ जिल्लामा स्वागत गरी गुरु मान्ने गरिन्छ ।
नेपालका पिठहरु मध्ये गोरखाको पीठ प्रधान मानिन्छ । नाथको अर्थ तिनै लोकको आदिरुप भन्ने हो । जसले ताप हरण गर्दछ, भोग र मोक्ष आदि ऐश्वर्यहरु वितरण गर्दछ, आाशिष दिन्छ त्यसलाई नाथ भनिन्छ । गोरक्षनाथद्धारा बाह्रवटा शाखाहरु प्रतिपादन भएका र तिनिहरु सत्यनाथ, धर्मनाथ, रामपन्थ, नटेश्वरी, कल्हण, कपिलानी, बैरागी माननाथ, आईपन्थ, पागलपन्थ, ध्वजपन्थ र गंगानाथ रहेकाछन् । नाथ सम्प्रदायमा ८४ सिद्धहरु रहेकाछन् । तिनिहरु सम्माननीय पूजनीय, स्मरणीय मानिन्छन् । नाथहरुले निवृत्त मार्ग अनुशरण गर्दछन् । गृहस्थहरुले प्रवृत्ति मार्ग अनुशरण गर्दछन् । नाथको घर र आश्रम दुवै हुँदैन । यिनिहरु यायावरी मानिन्छन् । यिनिहरुको साहित्यहरुको संरक्षण विकास र प्रचारप्रसार भएको पाईदैन । योगी नरहरीनाथ द्धारा गोरक्ष सहित्यको संकलन कार्य भएको थियो । तिनिहरुमा सिद्धसिद्धान्त पद्धती अनन्य मानिन्छ । यो ग्रन्थमा ६ अध्याय रहेकाछन् ।
गोरक्ष संहिता, योगप्रदीपीका, हठयोगदीपिका आदि नाथ सम्प्रदायका ग्रन्थहरु रहेकाछन् । नाथ परम्परामा अनेक सम्प्रदायहरु रहेकाछन् । तिनिहरुलाई गोरक्षनाथले समन्वय गरेकाछन् । उनले द्वैत अद्वैत विलक्षण वादको स्थापना गरे । नेपाल र भारतमा अनेकौ सम्प्रदायमा नाथ परम्पराको प्रभाव देखिन्छ । नाथ सम्प्रदायमा जातीय प्रथा छैन । जसले पनि दिक्षा ग्रहण गर्न सक्छन् । जात र लिंगको भेद छैन । सवै वर्ण र जातमा समानता छ । बुद्ध समानजाती धर्मका प्रतिपादक हुन । नाथ सम्प्रदाय समन्वयात्मक, सुधारात्मक, क्रान्तिकारी र उपदेशी मानिन्छ । ८ वर्षमा बालकलाई उपदेश दिइन्छ । ब्राहमणको ब्रतबन्ध गरे जस्तै गोरक्षनाथले यज्ञपरम्परा र धुनी परम्परा स्थापित गरे । बज्रयानी परम्परामा गोरक्षचिन्तनको संमिश्रण पाईन्छ । नाथहरु अवर्णनीय, अकल्पनिय, अनाथनन्ता र अलख निरन्जन मानिन्छन् । ध्यान र चिन्तन गरी त्यस्तै स्वरुप धारण गर्दछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-