फागुन १८, पोखरा
८ वर्षपछि नेपाल यू–१९ विश्वकपमा छनोट भएको छ।
बिहिबार युएईमा भएको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल आगामी वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा छानिएको हो।
युएईको अजमानस्थित इडेन गार्डेन ओभलमा नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएई अन्तिम १२ बल अगाडि नै १८४ रनमा अलआउट भएको थियो।
दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गर्दा अविस्मरणीय रुपमा नेपाललाई विश्वकपमा पुर्याएका हुन्।
युएईका लागि आर्यन सक्सेना र आर्यन्स शर्माले ६७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरूआत दिलाएका थिए। १७.२ ओभरमा ३२ रन बनाएका आर्यन्सलाई सुवास भन्डारीले आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए।
आर्यन अफजल खान सुवासको बलमा डक आउट भए । १७ रन बनाएर खेलिरहेका अर्का मुख्य ब्याटर ध्रुव परासरको विकेट दिपेशले लिएपछि युएई दबाबमा आएको थियो।
एथहान कार्ल डिसुजाले अर्धशतक बनाउदै इनिङस सम्हाल्ने प्रयास गरे। उनलाई ५० रनमा हेमन्त धामीले क्लिन बोल्ड गरेपछि नेपालको आश जागेको थियो ।
अन्त्यमा खेल रोमाञ्चक बन्यो । युएईलाई जितका लागि ८ रन र नेपाललाई ३ विकेट आवश्यक थियो। दिपेशले ४८ औं ओभरमा ह्याट्रिक लिएपछि नेपाल सन् २०१६ पछि विश्वकपमा फर्किएको हो।
नेपाललाई नाटकीय जित दिलाउन स्पिनर दीपेश कँडेलले ह्याटिकसहित पाँच विकेट लिए ।
युएईलाई जितको लागि ८ रन चाहिँदा दीपेशले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएका थिए। हेमन्त धामी र सुवास भण्डारीले पनि दुई दुई विकेट लिए।
प्रतिक्रिया लेख्नुहोस्:-