पौष १९, पोखरा,
नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुने भएको छ । १७ औं संस्करण यस म्याराथनमा एकैदिन ८ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । खुला म्याराथन (४२.१९५ किलोमिटर), महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर), महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहिन दौडसँगै रन फर फन हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
खुला म्यारथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो गत संस्करणको भन्दा १ लाख रुपैयाँ पुरस्कार राशीमा वृद्धि गरिएको हो । यस्तै दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ पाउनेछन् । यसपालि खुला म्याराथनमा सहभागी भएका गण्डकीका धावकलाई पनि पुरस्कारको व्यवस्था मिलाएको पराजुलीले बताउनुभयो । गण्डकीका धावकलाई हौसला प्रदान गर्नलाई पुरस्कार दिन लागेको उनले जनाए । गण्डकीबाट सहभागी धावकमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउनेछन् ।
महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः धावकले १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार रुपैयाँ जित्नेछन् ।
म्याराथनमा पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार रुपैयाँ खर्च हुनेछ । ९३ लाख रुपैयाँ कुल खर्च हुने आयोजकले जानकारी दिएको छ ।
पोखरा महानगरपालिकाको १७ वटा वडामा म्याराथनको रुट पर्ने प्रतियोगितामा यो पटकदेखि प्रविधिको प्रयोग समेत गरिने भएको छ । आयोजकले खुला र हाफ महिला म्याराथनमा सहभागी धावकलाई चिप्स जडान गर्ने तयारी गरेको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
सिटि म्याराथनको संस्कार अनुसार सबै इभेन्ट एकैदिन गर्न लागिएको मञ्चका निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।
यो वर्ष देखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस’ (एम्स)मा दर्ता भइसकेको छ भने पोखरा म्याराथनको रुट समेत एम्सवाट प्रमाणिकरण भइसकेको छ ।
नेपाल भूतपर्व खेलाडी मञ्चको गठन वि.सं. २०५८ सालमा भएको हो। पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालको जेठो म्याराथन मानिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-