टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल रङ्गशालामा दक्षिण अफ्रिकाका अग्ला खेलाडीहरुका माझ मध्यम उचाइका नेपाली खेलाडीको लहर एकै स्थानमा उभिएर राष्ट्रिय गान गाएपछि सुरु भएको थियो नयाँ टेस्ट प्रतिद्वन्द्वीसँग नेपालको प्रतिस्पर्धा।
नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो।
जवाफमा २० ओभरमा नेपालले ११४ रन बनायो। अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको थियो।
योसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। यो खेल जितेको अवस्थामा त्यो नेपालले टेस्ट खेल्ने कुनै पनि टोलीमाथि हासिल गरेको पहिलो जित हुने थियो।
सुपर आठमा पुग्ने सम्भावना जीवित राख्न पनि शनिवारको खेल जित्नै पर्ने अवस्थामा नेपाल थियो।
दक्षिण अफ्रिकाको बलिङ धारको सामना गर्न कठिन मान्ने गरिन्छ।
ओपनर कुशल भुर्तेलले दोस्रो ओभरको पाचौँ बलमा त्यो अनुभव गरे। खतरनाक रबाडाले गरेको बलमा लामो शट खेल्न खोज्दा ‘टप एज’ लागेर बल सिधै माथि उठ्यो। रबाडा आफैले त्यो सजिलो क्याच लिन दौडिए। तर बल उनको दुवै हातलाई स्पर्श गर्दै मैदानमा झर्यो। बल फुत्केकोमा रबाडा आफै छक्क परेका थिए।
त्यसपछि नेपालले धैर्यपूर्ण ब्याटिङ गर्यो। सातौँ ओभरसम्म टोलीको विकेट सुरक्षित थियो।
भुर्तेल र आशिफ शेखले एक एक रन जोड्न सङ्घर्ष गरेपछि चौका र छक्का प्रहार गर्दै रनरेट बनाइ राखेका थिए। तर आठौँ ओभरमा नेपालले तीन बलमा दुई विकेट गुमाएको थियो। स्पिनर तबरैज साम्सीले ३ बलमा २ विकेट झारेपछि केही बेर रङ्गशालामा उपस्थित नेपाली समर्थकहरू शान्त हुन पुगेका थिए।
ओभरको दोस्रो बलमा भुर्तेलले ‘रिभर्स स्वीप’ खेल्न खोज्दा बोल्ड हुन पुगेका थिए। त्यसपछि क्रिजमा आएका कप्तान रोहित दोस्रो बलको सामना गर्ने क्रममा साम्सीद्वारा बोल्ड हुन पुगे। नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेका पौडेल शून्य रनमा आउट भएका थिए।
कप्तान पौडेल आएपछि ब्याटिङ गर्न आएका अनिल साहले अर्का ओपनर आशिफ सेखसँग उत्कृष्ट साझेदारी गरेका थिए। २४ बलमा २७ रन बनाएका साहलाई मार्क्रमले यानसेनबाट क्याच गराएका थिए तर नेपालको रन गति रोकिएन। आशिफ शेख र अनिल साहले मिलेर इनिङ सम्हाले।
दुवैले विकेट जोगाउँदै ‘रनिङ विटविन विकेट’ मा स्कोरबोर्डमा रन जोडिरहेका थिए। यस्तोमा १२.५ ओभरमा आशिफ शेखले रबाडालाई अत्यन्त सुन्दर छक्का प्रहार गरे। सो छक्कामा बल रङ्गशाला बाहिर पुगेको थियो।
रबाडाको उक्त ओभरमा आशिफले १३ रन जोडेका थिए। आशिफ र अनिलले मिलेर तेस्रो विकेटका लागि ५० रनको अर्धशतकीय साझेदारी गरे। अनिल २७ रन बनाएर आउट हुन पुगे। २४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। मार्क्रमको बलमा जानसेनले अनिलको निकै कठिन क्याच समाएका थिए।
अन्तिम ओभरमा जितका लागि ८ रन बनाउनु पर्नेमा ६ रनमात्र बनाएपछि नेपाल १ रनले पराजित भएको हो। ८ रन आवश्यक भएको बेला गुलशन झाले पहिलो र दोस्रो बल डट खेले। तर तेस्रो बलमा चौका तथा चौथो बलमा २ रन जोडेपछि अब नेपाललाई जितको लागि २ रनको आवश्यक बन्यो।
यस्तो बेला ओटेनिल वार्टमानको पाँचौँ बल डट भयो। अब अन्तिम बलमा १ रन जोडे खेल टाई हुन्थ्यो भने २ रन जोडे जित। र अन्तिम बलमा रनका लागि दौडेका झा रन आउट हुन पुगे र नेपाल १ रनले पराजित भयो।
प्रतिक्रिया लेख्नुहोस्:-