हुम बहादुर गुरुङ
स्याङ्जा। स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेस्थित मनकामना मन्दिर परिसरमा आयोजित तेस्रो मनकामना महोत्सव–२०८३ को अवसरमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ।
महोत्सवअन्तर्गत आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि होमबहादुर रानाले गर्नुभएको थियो | मनकामना मन्दिरको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका रानाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङलाई भलिबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो।
उद्घाटन समारोहमा रानाका छोरा कल्याणकुमार राना, बिरुवा गाउँपालिकाकी उपाध्यक्ष भगवती शर्मा, रानाका परिवारका सदस्यहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रानाका छोराबुहारी भूमिन्द्रकुमार राना, सोमकुमारी राना, विक्रमकुमार राना, जितकुमारी राना, दीपककुमार राना, लीला राना, रमेशकुमार राना, रिमबहादुर राना र दिलमाया रानालगायतको सहभागिता थियो। त्यस्तै, अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ र गण्डकी प्रदेश भलिबल संघका महासचिव टुकबहादुर गुरुङ पनि अतिथिका रूपमा उपस्थित थिए।
उद्घाटन खेलमा बालकन्या युवा क्लब विजयी
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक निलो बिरुवा र बालकन्या युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। खेलमा बालकन्या युवा क्लबले सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। प्रतिकूल समयका कारण दोस्रो खेल भने सञ्चालन हुन सकेन।
प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा विधान स्पोर्ट्स र जामिरेबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा मनकामना बिरुवा र शाही फलफूलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। त्यस्तै, तेस्रो खेलमा जामिरे र मनकामना रातो तथा अर्को खेलमा बिरुवा र शाही फलफूलबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।

सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने
महोत्सवमा खेलकुदसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। सांस्कृतिक कार्यक्रममा चिज गुरुङ, शेरबहादुर गुरुङ, इन्द्रबत्ती थापा तथा द कोरस ब्यान्डको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिलाई एकै ठाउँमा समेटिएको तेस्रो मनकामना महोत्सवले स्थानीय प्रतिभाको प्रवर्द्धन गर्नुका साथै क्षेत्रको पर्यटन विकास र सामाजिक एकतालाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया लेख्नुहोस्:-