विरुवा खबर डट कम
पोखरा
असोज १९ अर्थात अक्टोबर ६ तारिखका दिन विश्व मस्तिष्क पक्षघात दिवशको अवशरमा मस्तिष्क पक्षघात संरक्षक समूह कास्की र साथी संसार नेपाल कास्कीको संयुक्त आयोजनामा विविध सचेतना मुलक कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बिभिन्न सरोकारवाला, आमा समूह, मस्तिष्क पक्षघात भएका ब्यक्ति, तथा अभिभावक, पत्रकार सहभागी भएको कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा, बरिष्ठ अधिकृत गीता न्यौपानेले रिवन काटेर गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै, साथी संसार नेपालका कार्यक्रम व्यवस्थापक नारायण अधिकारीले मस्तिष्क पक्षघात भनेको कुनै रोग नभई एउटा अवस्था भएको सबै जनाले बुझ्न जरूरी रहेको बताउनुभयो।मस्तिष्क पक्षघात हाम्रो मस्तिष्कमा चोट पुग्दा देखिने असर भएको र यस्तो चोट घटबढ नभई जस्ताको तस्तै रहिरहने पनि प्रष्ट पार्नुभयो। अधिकारीका अनुसार मस्तिष्कको चोट वा असरको कारण हाम्रो शरीरको चालहरुमा,बोलीमा र भावहरुमा असर पुगेको पाइन्छ। जसले गर्दा धेरै समस्याहरुको सामना गर्नु पर्ने हुदछ।मस्तिस्क पक्षघात शरीरमा देखिने असरको आधारमा पुरै मांसपेसी अररो हुने,अनियन्त्रित चाल हुने,असन्तुलित हुने,लुलोपन हुने साथै मिश्रित समस्याहरु पनि देखा पर्न सक्दछ। यो समस्या वंसाणुगत नभई कुनै दुर्घटना वा लापारवाहिबाट हुन सक्दछ।अनि मस्तिष्क पक्षघात आमाको गर्भमा रहेको बेलामा,जन्मिने क्रममा या जन्म पछि बच्चा दुर्घटनामा परेर बच्चाको टाउकोको मष्तिस्कमा ठक्कर लाग्दा अथवा बच्चाहरु सानै उमेरमा गम्भीर बिरामी भएर मस्तिष्कमा असर परेको खण्डमा मस्तिष्क पक्षघात हुदछ।यो गर्भावस्था देखि लगभग ५/७ वर्ष उमेर सम्म हुने सम्भावना रहने पनि उहाले बताउनुभयो । मस्तिष्क पक्षघात भएका व्यक्तिहरुका निम्ति धेरै चुनौतिहरु रहेको पनि उहाले बताउनुभयो। शिक्षामा पहुँच नहुनु, वौद्धिक अवस्था राम्रो भए पनि सरकारी स्कुलहरुमा भर्ना नलिनु,दैनिक जीवनका कार्यहरुमा सहयोग पुर्याउने निकायहरु नहुनु दुखद भएको उहाँको भनाइ थियो।साथि संसार नेपालले मस्तिष्क पक्षघात भएका व्यक्तिहरु तथा बालबालिकाहरुको क्षेत्रमा २०६२ साल देखि कास्की जिल्लामा विशेष शिक्षा एवं पुनस्थापना केन्द्र संचालन गर्दै र घरदैलो आधारित शिक्षा र समाहित शिक्षा सहयोग सेवा मार्फत सक्रिय रुपमा सेवा प्रदान गर्दै आइ रहेको पनि जानकारी दिनुभयो। त्यसै गरि मस्तिष्क पक्षघात भएका व्यक्तिहरुका अभिभावकहरुको पहलमा मस्तिष्क पक्षघात संरक्षक समुह नामक संस्था २०७४ सालमा स्थापना भई उनीहरुको हक अधिकार तथा संरक्षणका लागि पहल कदमी गर्दै आइ रहेको पनि बताउनु भयो।
पोखराको जिरो किमि बाट सुरु भएको र्याली पृथ्वीचोकमा आइ सभामा परिणत भएको थियो।
मस्तिष्क पक्षघात संरक्षक समुह कास्की का अध्यक्ष सांत्वना कुंवरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा साथी संसार नेपालका कार्यक्रम ब्यवस्थापक नारायण अधिकारीका साथै सृजनशील अपाङ्ग समाज कास्कीका फनिंन्द्र पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन रमेश सुबेदीले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-