भदौ २४, पोखरा
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्।
कतार एयरवेजबाट उनीहरू बिहान काठमाडौं आइपुगेका हुन्। विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन्। उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।
एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
‘उच्छृङखल गतिविधिहरू नहोऊन् भनेर सुरक्षा बढाएका छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले भने।
सुरक्षा चुनौतीलाई मध्यनजर गरी सुमार र ब्रुक्सको सुरक्षामा सादा पोशाकका प्रहरी पनि खटाइएको छ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलो पटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-