भदौ २५, पोखरा,
नेपाली बलर सन्दिप लामिछानेको विस्फोटक बलिङसामु पपुवा न्यूगिनी(पीएनजी) को टोली निरीह बन्न पुगेको छ । ओमानमा शुक्रबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र ११ रन दिएर ६ विकेट लिएका हुन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप नै म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
१५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न पनिसफल भयो । यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवान्युगिनी ८२ रनमा अलआउट हुन पुगेको हो । १९.१ ओभरको खेल खेल्दाखेल्दै पपुवान्युगिनी अलआउट हुन पुगेको हो ।
सन्दिप बाहेक आजको खेलमा सोमपाल कामी, विक्रम सोब, र सुशन भारीले पनि १–१ विकेट लिए ।आजको डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ८६ रनको योगदान दिए । सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने । यसैगरी केसीले २६ बलमा ४२ रन बनाए । यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-