माघ १२, पोखरा, विरुवा खबर
तथ्याङ्क विभागले आज १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । वि.सं. २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार हालको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसङ्ख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । अघिल्लो जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो ।
पुरुषभन्दा महिला बढी
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषकोभन्दा महिलाको सङ्ख्या बढिरहेको देखाएको छ । नेपालको हालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या ५१ प्रतिशत छ । यो भनेको महिलाको कुल जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसङ्ख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । १० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ र पुरुषको सङ्ख्या ४८.५ प्रतिशत नै थियो । यस हिसाबले यो १० वर्षमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५१ प्रतिशतभन्दा बढी रहेको छ ।
यो जनगणनाले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । र यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । जनगणनाबाट औसत १० वटा घरमा १२ वटा परिवार बसिरहेको पाइएको विभागले जानकारी दिएको छ ।
१० वर्ष अघि २०६८ सालको तुलनामा अहिले परिवारको सङ्ख्या २४.५७ प्रतिशतले बढेर १३ लाख ३३ हजार ७५७ वटा नयाँ परिवार थपिएको छ । यस्तै, अहिले नेपालको सहरी क्षेत्रको एउटा परिवारमा ४.३२ जना सदस्य र ग्रामीण क्षेत्रको परिवारमा ४.५५ जना सदस्य बसोबास गर्न थालेका छन् । १० वर्ष अघिसम्म सहरी क्षेत्रमा एउटै परिवारमा ४.८८ जना र ग्रामीण क्षेत्रमा ५.०२ थियो ।
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य गण्डकीमा सबैभन्दा कम र मधेसमा सबैभन्दा बढी ५.६६ जना छन् । यस्तै, जिल्लागत आधारमा हेर्दा दोलखामा सबैभन्दा कम ३.५१ जना र सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना बसोबास गर्ने गरेका छन् ।
कुन प्रदेशमा कति जनसङ्ख्या ?
नेपालका सात वटा प्रदेशमध्ये मधेसमा सबैभन्दा बढी जनसङ्ख्या छन् । मधेसमा कुल जनसङ्ख्या मध्येको ६१ लाख २६ हजार २८८ जना मासिन बसोबास गर्ने गरेका छन् । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको जनसङ्ख्या जम्मा १६ लाख ९४ हजार ८८९ जना रहेको पाइएको छ ।
यस्तै, यस अवधिमा वार्षिक जनसङ्ख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १.२५ प्रतिशत प्रतिवर्ष र गण्डकीमा सबैभन्दा कम ०.३० प्रतिशत प्रतिवर्ष छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर मधेसमा १.२० प्रतिशत प्रतिवर्ष रहेको पाइएको छ । यीबाहेक अन्य प्रदेशको जनसङ्ख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतभन्दा कम छ ।
सभार रातोपाटी
प्रतिक्रिया लेख्नुहोस्:-