फागुन, १८, पोखरा
विष्णु प्रसाद गुरुङ
गण्डकी क्रिस्चियन डिसएबिलिटी नेटवर्क(GCDN) को आयोजनामा तीन दिने ईन्गेज अपांगता राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल क्रिस्चियन डिसएविलिटी नेटवर्क (NCDN) को पहल तथा सुन्दरढोका नामक संस्थाको संयोजकत्वमा उक्त सम्मेलन हुन लागेको NCDN की संयोजक विजेता अधिकारीले जानकारी दिनुभयो । सम्मेलन यही फागुन १९-२१ गते सम्म पोखराको नयाँ गाउँ स्थित नयाँ गाँउ चर्चमा हुने पत्रकार सम्मेलन मार्फत उहाँले जानकारी गराउनुभयो । सम्मेलनमा नेपालका विभिन्न जिल्लाहरुबाट ४५ जना अपांगता भएका व्यक्तिहरुका साथै सतहत्तर वटै जिल्लाहरुबाट विभिन्न चर्चका पास्टर तथा अगुवाहरुको सहभागिता रहने पनि उहाँले बताउनुभयो । तीन दिन सम्म चल्ने उक्त सम्मेलनमा ३५० भन्दा बढीको सहभागिता रहने पनि अधिकारीले जानकारी गराउनु भयो। सम्मेलनमा पहिलो दिन अपांगता भएका व्यक्तिहरुलाई करुणासाथ पहिचान गरौं, दोस्रो दिन प्रेम पूर्वक स्वीकार गरौं र तेस्रो दिन समुदायमा स्वीकार गरौं भन्ने शिर्षकमा सहभागीहरुलाई प्रशिक्षण दिइनेछ । कार्यक्रममा अपांगता भएका सहभागीहरुले आराधना सेवा सञ्चालन गर्नेछन् भने, नृत्य लगायत विभिन्न प्रतिभाहरू समेत प्रस्फुट्न गर्नेछन्। अपांगता सम्बन्धि बाइबलिय शिक्षामा आधारित रहेर वक्ताहरुले उपस्थित सहभागीहरुलाई प्रशिक्षण दिइनेछ। अपांगता भएका व्यक्तिहरुप्रति मण्डलीको दायित्व के हो ? र मण्डलीले उहाँहरुलाई कसरी सहयोग गर्न सक्दछ भन्ने मुख्य विषयमा वक्ताहरुले बोल्नेछन् । नेपाल क्रिस्चियन डिसएबिलिटी सञ्जाल (NCDN) २०१६ मा स्थापना भई निरन्तर रुपमा अपांगता भएका व्यक्तिहरुको हक, हित र पुनर्स्थापनाको निम्ति कार्य गर्दै आइरहेको यसका संयोजक विजेता अधिकारीले बताउनुभयो । NCDN ले प्रत्येक दुइ – दुई वर्षमा यस्तै सम्मेलन गर्दै आइरहेको छ ।
विष्णु प्रसाद गुरुङ














प्रतिक्रिया लेख्नुहोस्:-