विष्णु गुरुङ ‘प्रशान्त’
किङगडम स्पोर्ट्स क्लबको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुला प्रथम ‘किङगडम कप’ ब्याडमिन्टन प्रतियोगिता पोखराको नयाँ गाउँ स्थित ताङ्लेकोट समाज घरमा एक विशेष समारोहका बीच सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा पोख्रेली ख्रिष्टियन समुदायका अध्यक्ष लाजरस हितैसी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
क्लबका उपाध्यक्ष चन्द्रकान्त विकले स्वागत मन्तव्य दिँदै खेलकुदले सामाजिक एकता र सद्भाव बढाउने उल्लेख गर्नुभएको थियो । प्रमुख अतिथि बानियाँले खेलकुदले शारीरिक, मानसिक र भावनात्मक विकासमा योगदान पुर्याउने भन्दै खेलप्रेमी दर्शक तथा खेलाडीहरुलाई खेल खेल्न प्रेरित गर्नुभएको थियो । क्लबले पहिलो वर्षमै उल्लेखनीय टिमको सहभागिता गराउन सफल भएकोमा उहाँले बधाई तथा शुभकामना समेत दिनुभएको थियो।
विशेष अतिथि लाजरस हितैसीले बाइबलमा समेत खेलको उल्लेख गरिएको बताउँदै, हार जित भन्दा पनि नियम र अनुशासन भित्र रहेर खेल्नु नै सबै भन्दा ठूलो विजय हुने धारणा राख्नुभयो।
प्रतियोगितामा पुरुष डबल्सतर्फ १५ टिम, पुरुष सिंगल्समा २० टिम, महिला डबल्समा ४ टिम, महिला सिंगल्समा ६ टिम र ४५ वर्ष माथिका (भेट्रान्स)तर्फ ४ टिमसहित कुल ४९ टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा पुरुष डबल्सतर्फ प्रथम हुने टिमलाई ३० हजार, दोस्रोलाई २० हजार, र सेमिफाइनलिस्ट टिमलाई ८ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने, पुरुष सिंगल्स तर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार, र फाइनलिस्ट टिमलाई ४ हजार रुपैयाँ प्रदान गरिने छ। त्यसै गरी महिला डबल्स तर्फ प्रथम टिमलाई २० हजार, दोस्रोलाई १५ हजार, र फाइनलिस्ट टिमलाई ५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। र ४५ वर्षमाथिका भेट्रान्सतर्फ प्रथम, दोस्रो र फाइनलिस्ट टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित मेडल ट्रफी र सर्टिफिकेट प्राप्त गर्नेछन।
प्रमुख अतिथि र विशेष अतिथिले ब्याडमिन्टन खेलेर प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो।
फुलवारी एजी चर्चका पाष्टर भविन्द्र रानाको प्रार्थना पश्चात सुरु भएको कार्यक्रम क्लबका सचिव जेरोम नेपालीले सञ्चालन गर्नुभएको थियाे भने, क्लबका अध्यक्ष यज्ञराम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
















प्रतिक्रिया लेख्नुहोस्:-