पोखरा, १ माघ ।
उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ।
अधिवेशनबाट आगामी कार्यकालका लागि ९ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा पुनः नरेन्द्र बास्तोला सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मालाई चयन गरिएको छ।
यसैगरी, लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरूमा ओमनाथ अधिकारी र केशव बहादुर थापा निर्वाचित हुनुभएको छ। सबै पदमा सर्वसम्मत निर्वाचन भएको निर्वाचन संयोजक कृष्णराज आचार्यले जानकारी दिनुभयो।
साधारण सभामा प्रमुख आमन्त्रित व्यक्तित्व समाजसेवी तथा संस्थाका ज्येष्ठ सदस्य प्रेमबहादुर श्रेष्ठले सहकारी क्षेत्रप्रति जनविश्वास जोगाउन पारदर्शिता र जिम्मेवार कर्जा प्रवाह आवश्यक रहेको बताउनुभयो।
संस्थाका सल्लाहकार एवं पत्रकार नारायण कार्कीले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीहरू सात सिद्धान्तभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
पुनः निर्वाचित अध्यक्ष नरेन्द्र बास्तोलाले उज्वल सहकारीलाई सुरक्षित, पारदर्शी, प्रविधिमैत्री र सदस्य–मैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बचत सुरक्षालाई पहिलो प्राथमिकता दिँदै डिजिटल सेवा विस्तार, युवामैत्री कार्यक्रम र सुशासनमा जोड दिइने बताउनुभयो।
साधारण सभाले संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत प्रगति समेटिएका वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, कारोबारकर्ता, कर्मचारी तथा संस्थाका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थापक अग्रज, पूर्व अध्यक्ष, शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।














प्रतिक्रिया लेख्नुहोस्:-