पोखरा ।
छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो स्थानमा सफल भएको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको तेस्रो स्थानका लागि प्रतिस्पर्धामा थाइल्याण्डले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–२ सेटले पराजित गर्यो। पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो। चौथो सेट भने एपीएफले २५–२३ ले जितेपछि खेल पाँचौँ सेटमा पुगेको थियो। निर्णायक पाँचौँ सेटमा थाइल्याण्डले १५–११ को जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्यो।
तेस्रो स्थान हासिल गरेसँगै थाइल्याण्ड क्विन्सले नगद २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।
अब प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दुई खेल हुनेछन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसिएसन आमनेसामने हुनेछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्नेछन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।














प्रतिक्रिया लेख्नुहोस्:-