पोखरा, १९ माघ — प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलनलाई तीव्र बनाएका छन्।
सोमबार उनले पोखरा महानगरपालिका वडा नम्बर १४ को इन्द्रमार्ग, वडा नम्बर २६ को भवानी टोल तथा वडा नम्बर ३० र ३१ अन्तर्गत मोहोरियाका स्थानिय नागरिकसँग संवाद गरेका छन्। भेटघाटका क्रममा स्थानियले ठूला भाषणभन्दा परिणाम देखिने काम आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, युवाहरू विदेशिनु पर्ने बाध्यता घट्ने वातावरण निर्माण गर्नुपर्ने अपेक्षा पनि व्यक्त गरिएको थियो।
संवादका क्रममा धेरै स्थानियले उम्मेदवार पौडेललाई आगामी निर्वाचनमा सफलताको शुभकामना समेत दिएका थिए।
रास्वपा कास्की–१ का उम्मेदवार गनेस पौडेलले स्थानिय संवादलाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएको बताए। “हामी भाषणभन्दा जनताको आवाज सुन्ने र सोही बमोजिम काम गर्ने राजनीतिमा विश्वास गर्छौं। यहाँ उठेका सबै समस्या हाम्रो प्राथमिकतामा छन्। जनताले भनेका कुरा नै हाम्रो बाचापत्रको आधार बन्छ,” उनले भने।
उनले पारदर्शिता, जवाफदेहिता र स्थानिय आवश्यकताअनुसार विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
यसैबीच, सोमबार नै उम्मेदवार पौडेलले रुपा गाउँपालिकाको देउराली फेदी, पोल्याङ, टाकान्जा र फैचोक क्षेत्रमा पनि जनतासँग सुझाव संकलन गरेका छन्। रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार ग्रामीण क्षेत्रका नागरिकले कृषि, सडक पहुँच तथा बजार व्यवस्थापनका विषयमा विशेष जोड दिएका थिए।
त्यस्तै, “स्थानिय संवाद यात्रा” मंगलबार पनि जारी रहने जनाइएको छ। निर्वाचन संयोजक श्रवण जमरकट्टेलका अनुसार मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १४ को विजयबस्ती, वडा नम्बर २८ का माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा कार्यक्रम तय गरिएको छ।
रास्वपाले यो अभियानमार्फत घरदैलो र प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै मतदाताको विश्वास जित्ने जनाएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-