दमौली – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट ‘तारा’ चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो तथा चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफू उत्साहित बनेको बताए।
आँबुखैरेनीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताबाट प्राप्त साथ र समर्थन मतमा परिणत हुने दाबी गरे। “जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ। त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं,” उनले भने। ढकालका अनुसार तनहुँमा ‘तारा’ चिन्हप्रति मतदाताको आशा र भरोसा दिनप्रतिदिन बढ्दो छ। भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएको कारण मतदाता आफू प्रति सकारात्मक रहेको उनको भनाइ छ।
स्थानीय बासिन्दा भएकाले जनताको सुखदुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै उनले जनभावना बुझ्ने र जिम्मेवार प्रतिनिधि संसदमा पठाउन मतदाता आतुर रहेको दाबी गरे। तनहुँ–१ मा चुनावी सरगर्मी बढिरहँदा ढकालले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।














प्रतिक्रिया लेख्नुहोस्:-