पोखरा, १२ फागुन – नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित तीन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। फागुन १० गतेदेखि सुरु भएको तालिम प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कास्की को प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।
तालिम समापन समारोहमा महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा ले डिजिटल युगमा पत्रकारहरू साइबरजन्य अपराधको उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता तालिमले पत्रकार स्वयं सुरक्षित हुन र आम नागरिकलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी, महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल ले डिजिटल प्रविधिमार्फत हुने ठगी तथा सुरक्षा चुनौतीबाट जोगिन तालिम उपयोगी रहेको धारणा राख्नुभयो।
सहभागीको तर्फबाट पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङ ले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा प्रयोगात्मक (प्र्याक्टिकल) अभ्याससहित कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।
साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्यों ले सहजीकरण गर्दै इन्टरनेटमार्फत हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण तथा अनाधिकृत पहुँचजस्ता जोखिमबाट जोगिने उपायबारे जानकारी दिनुभयो।
त्यस्तै, गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स का उपप्राध्यापक ई. सन्तोष पन्थ, नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल तथा जिल्ला प्रहरी कार्यालय कास्की का प्रहरी नायव निरीक्षक शिवा थापाले आ–आफ्नो विषयमा सहजीकरण गर्नुभएको थियो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध ७५ जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव मधु अधिकारीले गर्नुभएको थियो।














प्रतिक्रिया लेख्नुहोस्:-