पोखरा, १५ फागुन ।
आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्य ले व्यवसायिक शिक्षालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दिएका आचार्यले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतामा जोड्न शिक्षा संरचनामा सुधार आवश्यक रहेको बताएका छन् । उनका अनुसार हालको शिक्षा प्रणालीमा सैद्धान्तिक शिक्षाको प्रभाव बढी र प्राविधिक शिक्षाको हिस्सा कम भएकाले त्यसलाई सन्तुलित बनाउनुपर्छ ।
शुक्रबार पोखरा महानगरपालिका वडा नं. ४ मा आयोजित मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्राविधिक धारको शिक्षालाई विस्तार गरी सीपमूलक बनाइनुपर्नेमा जोड दिए ।
प्राविधिक शिक्षा हासिल गरेपछि युवा आफैं व्यवसाय सञ्चालन गर्न सक्षम हुने, उद्यमशीलतामा संलग्न हुन सक्ने र आत्मनिर्भर बन्ने वातावरण तयार हुने आचार्यको भनाइ छ । त्यसका लागि ‘स्टार्टअप बिजनेस’ अवधारणालाई वाणिज्य क्षेत्रसँग एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे ।
रोजगार प्रवर्द्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्योगलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण सिर्जना गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
आचार्यले प्रत्येक परिवार, समुदाय तथा संघ–संस्थाको सक्रिय सहभागिताबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै सन्तुलित र सर्वाङ्गीण विकासमार्फत कास्की–२ लाई नमुना क्षेत्र बनाउने धारणा राखे ।














प्रतिक्रिया लेख्नुहोस्:-