पोखरा, १७ फागुन – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कास्की क्षेत्र नं. २ मा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र बनेको छ। नेपाली काँग्रेस कास्की–२ का उम्मेदवार माधव प्रसाद बास्तोला ले पोखरा–४ मा व्यापक घरदैलो अभियान सञ्चालन गरेका छन्।
सिद्धार्थचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट गर्दै बास्तोलाले मत माग्नुका साथै सुझाव संकलन गरेका थिए। काँग्रेस कार्यकर्ताले “सच्चिएको काँग्रेस, अब ढुक्क भएर मतदान” भन्ने सन्देशसहित घरघरमा पुगेका थिए।
गणेशटोल निवासी प्रविण पालिखेले यस पटक काँग्रेस कार्यकर्तामा उत्साह थपिएको बताउँदै इमान्दार उम्मेदवार पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। घरदैलो कार्यक्रममा नेता बिन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, सन्तला कोइराला, शंकर बास्तोला, कृष्णकुमारी परियार, देवकृष्ण पराजुली, विष्णु कोइराला लगायत सहभागी थिए।
आइतबार सिद्धार्थचोक, चिप्लेढुङ्गा, पराजुली मार्ग, गणेशटोल, नालामुख, रामकृष्ण टोल, बागलुङ बसपार्क, गैह्रापाटन तथा बुढानीलकण्ठ मन्दिर क्षेत्रमा घरदैलो तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। गणेशटोल क्षेत्रका पुराना बजार र कलात्मक घरहरूको संरक्षणमा विशेष पहल गर्ने प्रतिबद्धता बास्तोलाले व्यक्त गरे।
घरदैलोका क्रममा नालामुखस्थित गणेशमान सिंह को शालिकमा माल्यार्पण गर्दै बास्तोलाले नेपाली काँग्रेस गणेशमानकै आदर्श र मार्गदर्शनअनुसार अघि बढेको बताए। सुशासन र समृद्धिलाई प्रमुख एजेण्डा बनाउँदै अगाडि बढ्ने उनको भनाइ थियो।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण प्रभावित नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै बास्तोलाले सरकारले उनीहरूलाई सुरक्षित स्थानमा राख्ने पहल गर्नुपर्नेमा जोड दिए। आफू पनि विगतमा त्रिशूली नदीमा खसेर पुनर्जन्म जस्तै अनुभव गरेको उल्लेख गर्दै पीडाको अनुभूति बुझेको उनले बताए।
घरदैलो कार्यक्रममा पोखरा–४ का ज्येष्ठ नागरिकदेखि युवा पुस्तासम्मका मतदाताले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ। यसअघि शनिबार पोखरा–११ मा पनि घरदैलो तथा सुझाव संकलन अभियान सम्पन्न गरिएको थियो। उम्मेदवार बास्तोलाले यसपटक काँग्रेस कार्यकर्तामा अभूतपूर्व उत्साह देखिएको दाबी गरेका छन्।














प्रतिक्रिया लेख्नुहोस्:-