काठमाडौं — अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न हुने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गरिने सरकारको चेतावनी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति बिना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो तथा भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा अनावश्यक भीडभाड गर्ने तथा उपचारमा खटिएका चिकित्सक र कर्मचारीको काममा अवरोध पुर्याउने गरेका गुनासोहरू प्राप्त भएका छन्। यस्ता गतिविधिले बिरामीको गोपनीयतामा प्रत्यक्ष असर पार्नुका साथै उपचार प्रक्रियामा समेत नकारात्मक प्रभाव पर्ने मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि अमर्यादित व्यवहार गर्ने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ को दफा ३ अनुसार उपचारमा बाधा पुर्याउन नपाइने स्पष्ट व्यवस्था रहेको छ। साथै, सोही ऐनले स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गर्न कडाइका साथ निषेध गरेको छ।
मन्त्रालयले सबै सरोकारवालालाई कानुनको पालना गर्न, स्वास्थ्य संस्थाको मर्यादा कायम राख्न तथा बिरामीको अधिकारको संरक्षण गर्न अपिल गरेको छ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिने स्पष्ट चेतावनी पनि दिएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-