काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमाल ले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। सोमबार आयोजित विशेष पत्रकार सम्मेलनमार्फत उहाँले स्वतन्त्र, मूल्य–आधारित र मुद्दाकेन्द्रित राजनीतिक अभियान सुरु गर्ने स्पष्ट गर्नुभयो।
“पुरानो व्यवस्थाको अन्त्य र नयाँ राजनीतिक संस्कृतिको सुरुवात” भन्ने नारासहित आयोजित कार्यक्रममा हमालले परम्परागत राजनीतिलाई सामन्ती र सौदाबाजीमा आधारित भएको आरोप लगाउनुभयो। दक्षिणपन्थी शक्तिहरूले राष्ट्रवादको नारा दिए पनि व्यवहारमा सत्तामुखी प्रवृत्तिबाट मुक्त हुन नसकेको उहाँको भनाइ थियो।
उहाँले जेनजी आन्दोलन समाप्त नभएको स्पष्ट पार्दै अब आन्दोलन सडकबाट संस्थागत विकासतर्फ उन्मुख भएको बताउनुभयो। “हाम्रो पुस्ता fearless generation हो, अब protest politics बाट governance र institution-building तर्फ जान्छौं,” उहाँले भन्नुभयो, “सत्ता बाहिर रहेका सम्पूर्ण जेनजीलाई एकीकृत गर्दै अघि बढ्नेछौं।”
यसैबीच, भदौ २३ र २४ गतेका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग ले तयार पारेको प्रतिवेदन सार्वजनिक नभएकोप्रति उहाँले आपत्ति जनाउनुभयो। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्नेमा जोड दिँदै दण्डहीनताको अन्त्य आवश्यक रहेको बताउनुभयो।
सीमा क्षेत्रमा देखिएको गतिविधिबारे पनि हमालले सरकारको मौनताप्रति प्रश्न उठाउनुभयो। लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा देखिएका गतिविधिलाई लिएर तत्काल कूटनीतिक पहल गर्नुपर्ने उहाँको माग थियो।
आर्थिक क्षेत्रमा बढ्दो महँगी, कालोबजारी र बेरोजगारीका कारण युवाहरू विदेश पलायन भइरहेको भन्दै उहाँले यसलाई संरचनागत समस्याका रूपमा सम्बोधन गर्न आग्रह गर्नुभयो। पेट्रोलियममा लागेका कर घटाएर जनतालाई तत्काल राहत दिन सकिने उहाँको धारणा थियो।
त्यसैगरी, बालेन शाह प्रति संकेत गर्दै हमालले लोकप्रियताभन्दा सत्य र जवाफदेहिता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
अन्त्यमा, “हामी अराजकता होइन, व्यवस्थित परिवर्तनका पक्षमा छौं,” भन्दै हमालले नयाँ राजनीतिक युगको सुरुवातमा देश–विदेशका नेपालीलाई साथ दिन आह्वान गर्नुभयो।














प्रतिक्रिया लेख्नुहोस्:-