काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानमाथि शानदार जित हात पारेको छ। उत्कृष्ट बलिङमा गुलशन झा र सन्तुलित ब्याटिङमा आशिफ शेख चम्किँदा नेपालले ओमानलाई ८१ रनले पराजित गर्यो।
२ सय ५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमै १ सय ७५ रनमा अलआउट भयो। ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाए भने अन्य ब्याट्सम्यानले ठूलो इनिङ्स खेल्न सकेनन्। नेपालका गुलशन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। साथै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २ सय ५६ रन बनाएको थियो। ओपनर विनोद भण्डारी शून्यमै आउट भए पनि आशिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि १ सय २३ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले। अर्जुन ४८ रनमा आउट भए भने आशिफ ९४ रन बनाउँदै शतकबाट ६ रनले चुके।
अन्तिम ओभरहरूमा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन जोड्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो।
यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो आठौं जित दर्ता गर्दै १८ अंकसहित सातौं स्थानमा कायम रहेको छ। सिरिजमा खेलेका चारमध्ये तीन खेल जित्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ।
ओमान भने चार खेलमध्ये एक मात्र जित निकाल्दै तीन खेलमा पराजित भएको छ र ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ।














प्रतिक्रिया लेख्नुहोस्:-