पोखरा, २२ वैशाख — १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले श्रममा निरन्तर योगदान पुर्याउँदै आएका श्रमिक, स्वरोजगार उद्यमी तथा सीपमूलक तालिमपछि रोजगारीमा आबद्ध व्यक्तिहरूलाई सम्मान गरेको छ।
महानगरपालिकाले विभिन्न क्षेत्रमा सक्रिय १२ जना व्यक्तिलाई सम्मान गरेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो। स्वरोजगारतर्फ शुष्मा पौडेल, रञ्जता रेग्मी र चन्द्र शर्मा सम्मानित भएका छन् भने रोजगारीतर्फ छविलाल कुँवर, कविता नेपाली र मञ्जु लामिछाने सम्मानित बनेका छन्।
यसैगरी मजदुरतर्फ मधुमाया तिमल्सिना, ममता गौतम, अप्सरा बास्तोला, केशवराज भट्टराई, विष्णुप्रसाद पौडेल र बालकुमार खवासलाई सम्मान गरिएको छ। सम्मानितमध्ये छ जना विभिन्न क्षेत्रमा १० वर्षभन्दा बढी एउटै संस्थामा सेवा पुर्याएका कर्मचारी तथा मजदुर हुन् भने अन्य छ जना महानगरको तालिमपछि रोजगारी तथा स्वरोजगारमा आबद्ध भएका हुन्।
उनीहरूलाई खादा, माला, सम्मानपत्रसहित जनही ५ हजार १०० रुपैयाँ नगद प्रदान गरिएको थियो। सोही अवसरमा आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत सीपमूलक तालिम लिएका २०० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवहारिक ज्ञान र सीप विकासमार्फत रोजगारीका अवसर वृद्धि हुने उल्लेख गर्दै यस्ता तालिमहरूले बेरोजगारी न्यूनीकरण र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “सीपका आधारमा आय आर्जन गर्दा व्यक्तिको आत्मसम्मान र सामाजिक प्रतिष्ठा दुवै बढ्छ,” उहाँले भन्नुभयो।
वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको मुख्य चुनौती भएको बताउँदै सीपमूलक तालिम प्रभावकारी माध्यम भएको धारणा राख्नुभयो। आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महानगरले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नगरवासीलाई आयआर्जनका अवसरमा जोड्ने प्रयास निरन्तर जारी राखेको जानकारी दिनुभयो।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी बास्तोला, मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष रिता पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। सम्मानित व्यक्तिहरूले महानगरले उपलब्ध गराएको तालिम तथा सहयोगप्रति आभार व्यक्त गरेका छन्।














प्रतिक्रिया लेख्नुहोस्:-