पोखरा, २८ वैशाख । नेपाली खेलकुदको उर्वरभूमि मानिने पोखराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै खेलाडी जन्माइसकेको छ । यही गौरवशाली इतिहासलाई निरन्तरता दिँदै अहिले नयाँ पुस्ताका केही प्रतिभाशाली खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत भविष्यका आशालाग्दा खेलाडीका रूपमा स्थापित भइरहेका छन् ।
यही क्रममा पोखराका खेलप्रेमीहरूको प्रतिष्ठित मञ्च ‘पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणअन्तर्गत ‘उदीयमान खेलाडी’ (इमर्जिङ प्लेयर) विधामा एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा परेका छन् । फरक–फरक खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै आएका यी तीन खेलाडी अहिले पोखरेली खेलकुद वृत्तमा चर्चाको केन्द्र बनेका छन् ।
१६ वर्षीया धाविका अनुष्का अधिकारी एथलेटिक्स क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा चिनिन्छिन् । पोखरास्थित सगरमाथा सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत अनुष्काले विद्यालयस्तरबाट सुरु गरेको खेल यात्रालाई राष्ट्रिय स्तरसम्म पुर्याएकी छन् । प्रशिक्षक कृष्णबहादुर थापाको प्रेरणाबाट एथलेटिक्समा प्रवेश गरेकी उनले राष्ट्रपति रनिङ शिल्डदेखि यू–२० एथलेटिक्स च्याम्पियनसिपसम्म उल्लेखनीय सफलता हात पारेकी छन् ।
२०८३ सालमा उनले १५ औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा २०० मिटर दौडतर्फ स्वर्ण जितेकी थिइन् । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तीन स्वर्ण, १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा एक रजत र तीन कास्य जितेकी उनले १६ औं पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण तथा जिल्ला स्तरीय प्रतियोगितामा तीन स्वर्ण पदक हात पारिन् । चौथो यू–२० एथलेटिक्स च्याम्पियनसिपमा दुई स्वर्ण जितेकी उनले दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा दुई रजत र एक कास्य पदक पनि जितेकी छन् ।
त्यस्तै, तेक्वान्दो खेलाडी सचिन सुनार पनि उदीयमान खेलाडीको रूपमा स्थापित हुँदै गएका छन् । पोखरा–१५ निवासी १७ वर्षीय सचिनले सानै उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । ‘एब्सोल्युट तेक्वान्दो डोजाङ’ मा प्रशिक्षक रेखमाया गुरुङको प्रशिक्षणबाट खेल यात्रा थालेका उनले हाल ब्ल्याक बेल्ट ‘डान २’ प्राप्त गरिसकेका छन् ।
सचिनले १३ औं कोरियन एम्बास्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, कुक्कीवान कप तेक्वान्दो च्याम्पियनसिप तथा पहिलो मायाज गण्डकी प्रदेशस्तरीय ओपन लेभल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । यस्तै, १५ औं राष्ट्रपति रनिङ शिल्डमा रजत, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, दोस्रो एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण र कास्य तथा १६ औं राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्दै उनले आफ्नो प्रतिभा प्रमाणित गरेका छन् ।
ब्याडमिन्टनतर्फ पोखराकी निभा राईले पनि कम उमेरमै राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । १५ वर्षीया निभाले १० वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेकी हुन् । हाल मैत्रीय पाठशालामा कक्षा १० मा अध्ययनरत उनी अन्डर–१५ नेपाल च्याम्पियन बनिसकेकी छन् भने अन्डर–१९ उमेर समूहमा समेत देशकै उत्कृष्ट पाँच खेलाडीभित्र पर्छिन् ।
प्रशिक्षक पुनम गुरुङको मार्गदर्शनमा खेल्दै आएकी निभाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । उनले भुटान र पाकिस्तानमा आयोजित प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
२०८२ सालमा चौथो मोहन मेमोरियल ब्याडमिन्टन प्रतियोगिता, पहिलो टोखा नगरपालिका एण्ड डिबिए राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता र ट्यालेन्ट हन्ट च्याप्टर–२ मा समान स्वर्ण र कास्य पदक जितेकी उनले २१ औं इन्द्रबहादुर गुरुङ मेमोरियलमा स्वर्ण, चौथो ललितपुर मेयर कपमा रजत तथा दोस्रो पोखरा मेयर कपमा रजत र कास्य पदक जितेकी छन् । साथै, पहिलो बिलबहादुर अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण र पाँचौं मोहन मेमोरियलमा दुई रजत पदक जितेकी छन् ।
खेलप्रतिको समर्पण, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनका कारण यी तीनै खेलाडी अहिले पोखरा स्पोट्र्स अवार्डको ‘उदीयमान खेलाडी’ विधामा बलिया दाबेदारका रूपमा हेरिएका छन् । भविष्यमा नेपाली खेलकुदलाई अझ उचाइमा पुर्याउने अपेक्षासहित खेलप्रेमीहरूले उनीहरूको यात्रालाई चासोका साथ नियालिरहेका छन् ।














प्रतिक्रिया लेख्नुहोस्:-