पोखरा ।
दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ नजिकिँदै जाँदा वर्ष उत्कृष्ट महिला खेलाडी को बन्ने भन्ने चर्चा खेलप्रेमीमाझ चुलिँदै गएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना गर्ने अवार्ड समारोहमा विभिन्न ९ विधामा सम्मान प्रदान गरिनेछ ।
वर्ष महिला खेलाडी विधामा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर मनोनयनमा परेका छन् । तीनै जना पहिलोपटक स्पोर्ट्स अवार्डको मनोनयनमा पर्न सफल भएका खेलाडी हुन् । उत्कृष्ट एक खेलाडीले अवार्डसँगै स्कुटरसमेत प्राप्त गर्नेछिन् ।
एथ्लेटिक्समा चम्किएकी नारायणी
एथ्लेटिक्सकी उदाउँदी खेलाडी नारायणी भण्डारीले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएकी छन् । १५ औं राष्ट्रपति रनिङ शिल्डमा उनले २८ वर्ष पुरानो कीर्तिमान तोड्दै ८०० मिटर दौड २ मिनेट १७ सेकेण्ड ९ मिलिसेकेण्डमा पूरा गरेकी थिइन् ।
उक्त प्रतियोगितामा उनले १५०० मिटरमा स्वर्ण र रिले दौडमा रजत पदक जितेकी थिइन् । प्रदेश खेलकुद परिषद् गण्डकीले उनको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप वर्षकै उत्कृष्ट खेलाडी घोषित गर्दै नगदसहित पुरस्कृत गरेको थियो ।
पोखरा ओपन नेशनल एथलेटिक्स मिट–२०२५ मा १५०० मिटर दौडतर्फ सिनियर नेशनल च्याम्पियन बनेपछि उनको चर्चा अझ बढेको छ । छोरेपाटन माध्यमिक विद्यालयकी छात्रा नारायणी ‘पिपुल्स च्वाइस अवार्ड’ को उत्कृष्ट पाँचमा समेत मनोनयनमा परेकी छन् ।
संघर्षबाट सफलता खोज्दै मनीषा
जुडो खेलाडी मनीषा तामाङको खेल यात्रा तेक्वान्दोबाट सुरु भए पनि कोरोना महामारीपछि उनी जुडोतर्फ मोडिएकी हुन् । छोटो समयमै उनले राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा निकाल्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् ।
२० औं राष्ट्रिय जुडो प्रतियोगितामा ७८ केजी तौल समूहमा रजत पदक जितेकी मनीषाले जुनियर ओपन नेशनल जुडो च्याम्पियनसिप–२०८१ मा पनि रजत हात पारेकी थिइन् । दोस्रो प्रदेशस्तरीय जुडो प्रतियोगितामा स्वर्ण जितेकी उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
खेलकुदमै भविष्य देखेकी मनीषा अहिले पोखरा रंगशालामा नियमित प्रशिक्षण गरिरहेकी छन् । आर्थिक अवस्था सामान्य भए पनि परिवारको साथ र आफ्नै मेहनतले उनी निरन्तर अघि बढिरहेकी छन् ।
अनुभवी आर्चर मोनिका
आर्चरी खेलमा लामो समयदेखि सक्रिय मोनिका राना मगर पनि यसपटकको अवार्डकी बलियो दाबेदार हुन् । सन् २०१४ देखि आर्चरी खेल्न थालेकी उनले सोही वर्ष दोस्रो इन्डोर नेशनल गेममा स्वर्ण जित्दै राष्ट्रिय स्तरमा पहिचान बनाएकी थिइन् ।
सातौं नेशनल इन्डोर गेम–२०८२ मा एकलतर्फ स्वर्ण जितेकी मोनिकाले १३ औं नेशनल आर्चरी च्याम्पियनसिपमा रजत पदक हात पारेकी छन् । जापानमा हुने २० औं एशियन गेमका लागि नेपालबाट छनोट हुनु उनको अर्को ठूलो उपलब्धि हो ।
नवौं राष्ट्रिय खेलकुद, १३ औं साग तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी मोनिकाले खेलसँगै शिक्षालाई पनि सँगसँगै अघि बढाएकी छन् । हाल उनी लेखनाथ मेमोरियल स्कुलमा विज्ञान विभाग प्रमुखका रूपमा कार्यरत छिन् ।
तीनै खेलाडीले आ–आफ्नो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वर्ष महिला खेलाडीको उपाधिका लागि बलियो दाबी प्रस्तुत गरेका छन् । अब अवार्ड कसले जित्ने भन्ने टुंगो वैशाख ३१ गते पोखरामा लाग्नेछ ।














प्रतिक्रिया लेख्नुहोस्:-