पोखरा, ३० वैशाख ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा गण्डकी प्रदेशमा खेल पर्यटनको सम्भावना, चुनौती र अवसरबारे व्यापक छलफल गरिएको छ ।मञ्चद्वारा आयोजित ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरूले गण्डकी प्रदेशलाई विश्वस्तरीय खेल पर्यटन ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि स्पष्ट सरकारी नीति, पूर्वाधार विकास र लगानी अभाव मुख्य चुनौतीका रूपमा रहेको बताएका हुन् ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीसँग पत्रकार सन्देश श्रेष्ठले छलफल गरेका थिए ।
वक्ताहरूले नीतिगत झन्झट, गुणस्तरीय पूर्वाधारको अभाव र सरकारी निकायबीच समन्वय नहुँदा खेल पर्यटन क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको धारणा राखे ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले खेल पर्यटकले सामान्य पर्यटकभन्दा १० देखि १०० गुणासम्म बढी खर्च गर्ने तथ्य प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्ड र खेलकुद निकायबीच समन्वय गरी ‘स्पोर्ट्स क्यालेन्डर’ निर्माण गर्नुपर्ने सुझाव दिए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा राज्यको लगानी अत्यन्त न्यून रहेको र मन्त्रालयहरूबीच समन्वय अभावले लगानी प्रभावकारी हुन नसकेको बताए ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरालाई अन्तर्राष्ट्रिय ‘स्पोर्ट्स ब्रान्ड’ बनाउन सरकारी स्तरबाटै छुट्टै ‘स्पोर्ट्स डेस्क’ स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्काई डाइभ पाइलट यशोदा केसी थापाले कानुनी जटिलता, उपकरणमा लाग्ने उच्च कर तथा अनुमति प्रक्रियाका समस्याले साहसिक पर्यटनले गति लिन नसकेको गुनासो गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशको समग्र विकासका लागि खेलकुद र पर्यटनलाई एकीकृत गर्दै दीर्घकालीन नीति निर्माणमा जोड दिइने बताए ।
उनले पहुँच र व्यक्तिगत स्वार्थका आधारमा हुने बजेट विनियोजन अन्त्य गरी वास्तविक आवश्यकता र दीर्घकालीन योजनाका आधारमा नीति निर्माण गरिने उल्लेख गरे । पर्यटन र खेलकुद क्षेत्रमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना रहेको भन्दै उनले बागलुङको ढोरपाटनमा घोडा दौड तथा स्केटिङ र मुस्ताङ क्षेत्रमा गल्फ कोर्स निर्माणको सम्भावनाबारे पनि चर्चा गरे ।
मन्त्री शेरचनले पर्यटन व्यवसायी तथा खेलकुद क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावलाई प्रदेश सरकारले आफ्नै योजनाका रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गण्डकी प्रदेशलाई खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन् ।
उनले पोखरालाई मात्र नभई समग्र गण्डकी प्रदेशलाई खेल पर्यटनको केन्द्र बनाउन मिडिया मार्केटिङ र ब्रान्डिङ आवश्यक रहेको उल्लेख गर्दै पर्वत, गोरखा, मनाङ र मुस्ताङका साहसिक खेल क्षेत्रलाई विश्व बजारमा चिनाउन पत्रकारिताले सेतुको भूमिका खेल्नुपर्ने धारणा राखिन् ।
भण्डारीले खेल पत्रकारिता अब हार–जितको तथ्यांकमा मात्र सीमित नरही पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बन्नुपर्नेमा जोड दिइन् ।
१० औं स्पोर्ट्स अवार्डमा १० जनालाई सम्मान
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पोखरा स्पोर्ट्स अवार्डको १० औं संस्करणको अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याएका १० जना तथा दुई संस्थालाई सम्मान गरिएको छ ।
‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ का अवसरमा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्षहरू मोहन घले, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, केशव पाठक, एकराज गिरी, दीननाथ बराल तथा पोखरा स्पोर्ट्स अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठलाई दोसल्ला, माला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
संस्थागततर्फ सहारा क्लब पोखरा र टाइगर ग्रुप अफ पोखरालाई पनि सम्मान गरिएको थियो ।
सम्मान गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन र मञ्चका अध्यक्ष एमबी आस्था मगरले प्रदान गरेका थिए ।
कार्यक्रममा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, हिमश्री फुड्स प्रालि र गुरुङ गहना घर प्रालिलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
मञ्चले बिहीबार पोखरा इभेन्ट सेन्टरमा १० औं संस्करणको रारा पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्ने जनाएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-