स्याङ्जा, ९ जेठ । स्याङ्जाको बिरुवा गाउँपालिकाको बेरुजु पछिल्लो ६ आर्थिक वर्षदेखि निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले वैशाख ३१ गते सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ देखि ६३ औँ वार्षिक प्रतिवेदनसम्मको तथ्याङ्क अनुसार गाउँपालिकाको बेरुजु प्रत्येक आर्थिक वर्षमा क्रमशः घट्दै गएको देखिएको छ ।
जिल्लाका ११ स्थानीय तहमध्ये पछिल्ला ६ आर्थिक वर्षमा हरेक वर्ष बेरुजु घटाउन सफल हुने बिरुवा गाउँपालिका मात्रै रहेको उल्लेख गरिएको छ । अन्य स्थानीय तहमा भने बेरुजुको दर घटबढ भइरहेको तथ्याङ्कले देखाएको छ ।
महालेखा परीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार बिरुवा गाउँपालिकाको बेरुजु २.६५ प्रतिशत रहेको थियो । त्यसयता गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शिता र खर्च व्यवस्थापनमा सुधार गर्दै बेरुजु घटाउँदै लगेको देखिन्छ ।
गाउँपालिकाले योजना कार्यान्वयन, लेखा प्रणाली व्यवस्थापन तथा अनियमितता नियन्त्रणमा ध्यान दिँदै आएको कारण बेरुजु घटाउन सफलता मिलेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् ।
स्थानीय तहमा सुशासन र वित्तीय अनुशासन कायम गर्ने दृष्टिले बिरुवा गाउँपालिकाको यो उपलब्धिलाई सकारात्मक रूपमा हेरिएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-