पोखरा, जेठ २५। फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा सञ्चालन गर्ने चालक तथा डुंगामा सयर गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सामूहिक बिमा गरेको छ।
संगठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि बिमा सम्झौता गरेको हो। बिमा योजनाअनुसार फेवातालमा डुंगा दुर्घटनामा परी घाइते हुने चालक तथा यात्रुले उपचार खर्चबापत अधिकतम १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै दुर्घटनाबाट मानविय क्षति भएमा मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ।
संगठनका अध्यक्ष बलराम गिरीका अनुसार संगठनमा दर्ता भई सञ्चालनमा रहेका सबै डुंगामा यो बिमा व्यवस्था लागू हुनेछ।
फेवातालमा प्रत्येक वर्ष विभिन्न प्रकारका दुर्घटना हुने गरेकाले बिमाले चालक तथा यात्रु दुवैलाई थप सुरक्षा महसुस गराएको अध्यक्ष गिरीले बताए।
हाल फेवातालका ८ वटा डुंगा स्टेशनबाट ८ सय ४७ वटा डुंगा सञ्चालनमा रहेका छन् भने करिब ३ सय ५० जना डुंगा चालक सक्रिय रहेका छन्।














प्रतिक्रिया लेख्नुहोस्:-