असार ६, पोखरा, | गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवा प्रतिनिधि, अभियन्ता तथा सरोकारवालाहरूको सहभागितामा “गण्डकी प्रदेश युवा सम्मेलन २०२६” पोखरामा सुरु भएको छ। “डिजिटल नागरिक स्थानलाई बलियो बनाउन युवाहरू एकजुट हुँदै” भन्ने मूल नारासहित आयोजना गरिएको दुईदिने सम्मेलनको उद्घाटन शनिबार सम्पन्न भएको हो। गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभ्यास (Youth Initiative), युरोपियन युनियन (EU) र सिभिकस (CIVICUS) को संयुक्त सहकार्यमा आयोजित सम्मेलनको उद्देश्य डिजिटल लोकतन्त्र, नागरिक अधिकार र प्रविधिको जिम्मेवार प्रयोगमा युवाहरूको भूमिका सशक्त बनाउनु रहेको आयोजकले जनाएको छ।
उद्घाटन समारोहको अध्यक्षता गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ सहभागी हुनुभएको थियो। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी प्रदेश प्रमुख डा. राजन पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी सह–सचिव नीतु बर्तौला, युवा अभ्यासकी उपाध्यक्ष स्वस्तिका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन युवा उद्घोषक आदित्य रसाइलीले गर्नुभएको थियो।
वातावरणमैत्री शैलीमा उद्घाटन सम्मेलनको उद्घाटन परम्परागत दियो बाल्ने वा रिबन काट्ने शैलीभन्दा फरक ढङ्गले गरिएको थियो। प्रमुख अतिथि मन्त्री रेखा गुरुङले हरियो बोटबिरुवामा पानी हालेर सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो। उपस्थित अतिथिहरूले छातीमा हरियो पातको ब्याज लगाएका थिए। वातावरण संरक्षण र दिगो विकासप्रतिको युवाहरूको प्रतिबद्धता झल्काउने उद्देश्यले यस्तो शैली अपनाइएको आयोजकले जनाएको छ।

डिजिटल युगमा युवाको भूमिका महत्वपूर्ण : वक्ताहरू उद्घाटन सत्रमा बोल्दै आयोजक पक्षले सम्मेलन बागमती प्रदेशबाट सुरु भएको र सातै प्रदेशमा सञ्चालन हुने अभियानको एक महत्वपूर्ण चरणका रूपमा गण्डकीमा आयोजना गरिएको जानकारी गराएको थियो। युवाहरूलाई आफ्ना आवाज पहिचान गर्ने अवस्थाबाट आवाज उठाउने र नीतिगत तहमा प्रभाव पार्ने अवस्थासम्म पुर्याउने उद्देश्य सम्मेलनले राखेको बताइएको छ। सम्मेलनमा गण्डकीका ११ वटै जिल्लाबाट करिब ५० जना युवाको सहभागिता रहेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका गण्डकी प्रदेश प्रमुख डा. राजन पौडेलले परम्परागत संरचनाभन्दा बाहिर निस्केर युवाहरूले मुद्दामुखी बहस सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तन, वन्यजन्तु संरक्षण तथा आर्थिक गतिविधिहरू समेत डिजिटल माध्यमसँग जोडिएकाले प्रविधिको सही प्रयोग आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले वर्तमान समयमा शक्ति सूचना र प्रविधिमा केन्द्रित हुँदै गएको उल्लेख गर्दै युवाहरूलाई नीति निर्माण र बजेट प्रक्रियामा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी सह–सचिव नीतु बर्तौलाले सम्मेलनमा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न समुदायको समावेशी सहभागिताको मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो। उहाँले युवाहरूले उत्साहसँगै जिम्मेवारी र मर्यादालाई पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो। सरकार युवाको डिजिटल अधिकारप्रति प्रतिबद्ध : मन्त्री गुरुङ प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले युवाहरूको डिजिटल अधिकार र सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। पालिकाहरूले नीति तथा बजेट निर्माण गरिरहेको अवस्थामा सम्मेलनबाट प्राप्त हुने सुझावहरूलाई सरकारका कार्यक्रमसँग जोड्ने पहल गरिने उहाँको भनाइ थियो। मन्त्री गुरुङले सातै प्रदेशका युवाहरू सहभागी हुने वृहत् सम्मेलन गण्डकी प्रदेशमा आयोजना गर्न गैरसरकारी संस्था महासंघलाई आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्षीय मन्तव्य राख्दै पदमराज पहारीले राजनीतिक अधिकार मात्र पर्याप्त नभई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न डिजिटल स्पेसको प्रभावकारी प्रयोग आवश्यक रहेको बताउनुभयो। सम्मेलनबाट प्राप्त सुझावहरूलाई घोषणापत्रका रूपमा तयार गरी स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष बुझाइने उहाँले जानकारी दिनुभयो। डिजिटल सुरक्षा, एआई र युवाको सहभागितामाथि छलफल हुने उद्घाटनपछि सामूहिक तस्बिर तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा डिजिटल नागरिक स्पेस र सुरक्षा अधिकार, कृत्रिम बुद्धिमत्ता (AI) को नैतिक प्रयोग, युवाको राजनीतिक–सामाजिक–आर्थिक सहभागिता तथा डिजिटल लत र मानसिक स्वास्थ्यका विषयमा छलफल तथा कार्यशाला सञ्चालन हुनेछन्। सम्मेलनको अन्तिम दिन युवाहरूका साझा सुझाव र माग समेटिएको “पोखरा युवा घोषणापत्र २०२६” जारी गरिने आयोजकले जनाएको छ।















प्रतिक्रिया लेख्नुहोस्:-