लेखनाथ, १२ भदौ । पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण मन्दिरमा विगत पाँच दशकदेखि निरन्तर चल्दै आएको जनै मन्त्र गर्ने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ। जनैपूर्णिमाको अवसरमा गगनगौडा, मजुवा, लामेआहाललगायत आसपासका क्षेत्रबाट हजारौँ तागाधारी तथा भक्तजन मन्दिरमा पुगेर वैदिक विधिअनुसार जनै मन्त्र गराएका छन्।
जनैपूर्णिमाका दिन बिहानैदेखि मन्दिर परिसर मा भक्तजनको चहलपहल बढेको थियो। बिहान करिब ५ बजेदेखि ९ बजेसम्म जनै, तागो, चामल, फलफूल तथा नगद दक्षिणासहित भक्तजनहरू मन्दिरमा पुगेका थिए। वैदिक विधिअनुसा छ ।
यस क्षेत्रमा जनै मन्त्र गराउने परम्पराले धार्मिक संस्कारसँगै स्थानीय सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत जोड्दै आएको स्थानीयको भनाइ छ। विशेषगरी ज्वाइँ, भान्जा तथा पण्डितबाट रक्षा बन्धन बाँध्ने चलनसमेत यस क्षेत्रका समुदायमा रहेको छ ।
जनै मन्त्र तथा धारणसँगै राधाकृष्ण मन्दिरमा भगवान् राधाकृष्णको विशेष पूजा–आराधना गरिएको थियो। मन्दिर परिसरमा आरती तथा भजन–कीर्तन समेत आयोजना गरिएको थियो। आरतीमा सहभागी भक्तजनहरूले भगवान् राधाकृष्णको दर्शन गर्दै सुख, शान्ति, समृद्धि र परिवारको मंगलमय जीवनको कामना गरेका थिए ।
जनैपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यसलाई रक्षाबन्धन, ऋषितर्पणी तथा क्वाँटी पूर्णिमाका रूपमा समेत मनाउने गरिन्छ। वैदिक परम्पराअनुसार यस दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गरिन्छ। जनैलाई शुद्धता, अनुशासन, ज्ञान र धार्मिक जिम्मेवारीको प्रतीकका रूपमा लिइन्छ ।
जनैपूर्णिमाका अवसरमा ऋषि, पितृ तथा देवताको स्मरण र पूजा गर्ने परम्परा पनि रहेको छ। दिदीबहिनीले दाजुभाइको हातमा रक्षाबन्धन बाँधेर आपसी माया, विश्वास र संरक्षणको सम्बन्धलाई थप प्रगाढ बनाउने चलन छ ।
नेपालका विभिन्न समुदायले यस पर्वलाई आ–आफ्नै मौलिक परम्पराअनुसार मनाउने गरेका छन्। नेवार समुदायमा गुन्हु पुन्ही, तराई क्षेत्रमा राखी वा रक्षाबन्धन तथा पहाडी क्षेत्रमा जनैपूर्णिमाका रूपमा यो पर्व मनाइन्छ ।
त्यसैगरी जनैपूर्णिमामा क्वाँटी खाने परम्परा पनि रहेको छ। विभिन्न प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीलाई पौष्टिक परिकारका रूपमा लिइन्छ। वर्षायाममा शरीरलाई आवश्यक ऊर्जा र पोषण प्रदान गर्ने भएकाले क्वाँटीको विशेष महत्व रहेको मानिन्छ ।
राधाकृष्ण मन्दिरमा पाँच दशकदेखि चल्दै आएको जनै मन्त्र गर्ने परम्पराले धार्मिक संस्कारको संरक्षणसँगै यो क्षेत्र गर्ग ऋषि र च्यावन ऋषिको क्षेत्र ज्ञान भुमिका स्थल भएकाले पनि नयाँ पुस्तालाई समेत मौलिक संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ। जनैपूर्णिमाको अवसरमा मन्दिरमा देखिएको भक्तजनको उल्लेख्य सहभागिता र आरती–भजनसहितको धार्मिक वातावरणले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-