हुम बहादुर च्हाक्ली तमु गहते, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेमा जारी तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कपअन्तर्गतको भलिबल प्रतियोगितामा बिरुवा टिमले साही फलफूललाई पराजित गरेको छ। रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा बिरुवाले ३–१ को सेटमा जित निकाल्दै आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको हो।
खेलको सुरुवातदेखि नै दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। पहिलो सेटमा कडा प्रतिस्पर्धाका बीच बिरुवाले २८–२६ को जित निकाल्यो। दोस्रो सेटमा पनि आफ्नो लय कायम राख्दै बिरुवाले २५–२० ले सेट आफ्नो पक्षमा पार्यो।
खेलमा फर्किने प्रयास गरेको साही फलफूलले तेस्रो सेटमा २७–२५ को जित निकाल्दै प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको थियो। तर, चौथो सेटमा बिरुवाले पुनः उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–२३ को जित निकाल्यो। यससँगै बिरुवाले समग्र खेल ३–१ को सेटमा आफ्नो पक्षमा पार्न सफल भयो।
बिरुवा टिममा गण्डकी प्रदेशका कप्तान सञ्जु विक्रम साह र अमृत केसी सहभागी थिए भने टोलीको प्रशिक्षकको जिम्मेवारी सन्दीप खड्काले सम्हालेका थिए।
यसैबीच, महोत्सवको चौथो दिन मनकामना मन्दिरका मानार्थ अध्यक्ष तथा समाजसेवी नरबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले मनकामना मन्दिरको नवनिर्मित प्रवेशद्वारको शिलालेखबाट पर्दा हटाउँदै प्रवेशद्वारको उद्घाटन गर्नुभएको थियो। उद्घाटनअघि प्रमुख अतिथि गुरुङ सपरिवार मन्दिरमा दर्शन गर्नुभएको थियो।
महोत्सवको सांस्कृतिक कार्यक्रमले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा बहुचर्चित गायक चिज काजी गुरुङ, जादुगर शेरबहादुर गुरुङ, इन्द्र गुरुङ तथा द कोरस ब्याण्डले आ–आफ्नो विशेष प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिसँगै महोत्सवस्थलमा सांगीतिक रौनक थपिएको थियो भने उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए।

महोत्सवअन्तर्गत भोलि बहुचर्चित गायिका शान्तिश्री परियारको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। उनको प्रस्तुतिलाई लिएर दर्शक तथा संगीतप्रेमी उत्साहित छन्।
स्थानीय खेलकुद, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कपले गहते क्षेत्रलाई उत्सवमय बनाएको छ। भलिबल प्रतियोगिताको प्रतिस्पर्धा, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति र धार्मिक गतिविधिले महोत्सवको आकर्षण थप बढाएको छ।
















प्रतिक्रिया लेख्नुहोस्:-