पर्सा, २ सबैया ।
पर्सागढी नगरपालिका–४, सबैयामा रहेको सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणका विषयमा महत्वपूर्ण निर्णय गरेको जनाएको छ।
बैठकबाट सबैया साझेदारी वन अन्तर्गत अतिक्रमण गरी प्रयोग हुँदै आएको वन क्षेत्रको जग्गा खाली गराउने निर्णय गरिएको छ। वन क्षेत्रको संरक्षण गर्दै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा सबैया सब–डिभिजन कार्यालयका रेन्जर भुपाल रोकाय, उपाध्यक्ष असलम आलम तथा सदस्यहरू श्रवण प्रसाद साह, भैयाराम पटेल, नेसार अहमद, राजिव सरार्फ, सुरज कुर्मी, रिता देवी, राधिका लामा र शशि भूषण तिवारीलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले वन अतिक्रमण नियन्त्रण, अवैध कटानी रोकथाम तथा उपभोक्ताको अधिकार संरक्षणका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, वृक्षारोपण, जैविक विविधताको संरक्षण तथा वन पैदावारको व्यवस्थित उपयोगमार्फत स्थानीय समुदायको सहभागितामा वातावरणीय सन्तुलन कायम गर्दै आएको जनाएको छ। साथै वन क्षेत्रभित्र हुने अवैध गतिविधि नियन्त्रण गरी उपभोक्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि उल्लेख गरिएको छ।
बैठकमा वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने, समुदायको सक्रिय सहभागिता बढाउने तथा वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।














प्रतिक्रिया लेख्नुहोस्:-