काठमाडौँ, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार राति सार्वजनिक गरेको छ । यस वर्ष एसईईमा सहभागी विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा सचिव चुडामणि पौडेलका अनुसार गत वर्षको तुलनामा यसपालि नतिजामा ४.१७ प्रतिशतले सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो । सोहीअनुसार उत्तरपुस्तिका परीक्षणलाई छिटो र प्रभावकारी बनाउन परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था मिलाइएको थियो । परीक्षा सकिएको २९ दिनमै बोर्डले नतिजा सार्वजनिक गर्न सफल भएको हो ।
यस वर्षको एसईई परीक्षा चैत २९ गते सम्पन्न भएको थियो । परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र तथा ७ जना अन्य विद्यार्थी सहभागी थिए ।
यसपटक जापानस्थित एभरेस्ट स्कुलबाट समेत २३ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-