पोखरा, ३० वैशाख ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति, पूर्वाधार विकास र लगानी अभावका कारण यो क्षेत्रले अपेक्षित गति लिन नसकेको सरोकारवालाहरूले बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सम्पन्न ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरूले खेल र पर्यटनलाई जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै त्यसका लागि नीतिगत सुधार, मन्त्रालयहरूबीच समन्वय र गुणस्तरीय पूर्वाधार अपरिहार्य रहेको बताएका हुन् ।
सम्मेलनमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी वक्ताका रूपमा सहभागी थिए । छलफलको सहजीकरण पत्रकार सन्देश श्रेष्ठले गरेका थिए ।
वक्ताहरूले खेल पर्यटनलाई केवल खेल गतिविधिमा सीमित नगरी ठूलो उद्योग र सामाजिक रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनीहरूका अनुसार महँगो हवाई भाडा, सडक पूर्वाधारको कमजोर अवस्था, सरकारी नीतिगत झन्झट तथा मन्त्रालयहरूबीचको समन्वय अभाव खेल पर्यटन विकासका मुख्य बाधा बनेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले विश्व बजारमा खेल पर्यटनले ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै खेल पर्यटकले सामान्य पर्यटकभन्दा १० देखि १०० गुणासम्म बढी खर्च गर्ने बताए । उनले थाइल्याण्डमा गल्फ पर्यटन, भियतनाममा एड्भेन्चर स्पोर्ट्स र स्वीजरल्याण्डमा ‘अल्पाइन टुरिज्म’ले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको उदाहरण प्रस्तुत गरे ।
नेपालमा पनि यस्तै सम्भावना भए पनि सरकारी नीतिले सहयोग नगरेको उनको भनाइ थियो । विदेशी पर्यटकका लागि काठमाडौं–पोखरा हवाई भाडा अत्यन्त महँगो हुनु र सडक अवस्था कमजोर रहनुले खेल आयोजनामा असर परेको उनले बताए । उनले खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र खेलकुद निकायले संयुक्त रूपमा ‘स्पोर्ट्स क्यालेन्डर’ निर्माण गर्नुपर्ने सुझाव दिए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदलाई मनोरञ्जन वा पदकमा मात्र सीमित नगरी स्वास्थ्य र सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताए । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार मानसिक समस्याबाट प्रभावित व्यक्तिहरूका लागि खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो ।
उनले राज्यले खेलकुद क्षेत्रमा न्यून बजेट विनियोजन गरेको उल्लेख गर्दै विभिन्न मन्त्रालयबीच समन्वय अभावकै कारण एउटै शीर्षकमा छुट्टाछुट्टै बजेट खर्च भइरहेको बताए । निजी क्षेत्रले सञ्चालन गरेका जिमखाना र फुटबल मैदानहरूले रोजगारी सिर्जना गरे पनि राज्यबाट पर्याप्त पहिचान नपाएको उनको गुनासो थियो ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखराको मौसम र प्राकृतिक वातावरण खेल पर्यटनका लागि विश्वकै उत्कृष्टमध्येमा पर्ने बताए । तर पूर्वाधार अभाव र कमजोर ब्रान्डिङका कारण पोखराले अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित पहिचान बनाउन नसकेको उनको भनाइ थियो ।
उनले पोखरामा आयोजना हुने म्याराथन, ट्रायथलनलगायत खेललाई विश्व बजारमा प्रवर्द्धन गर्न स्थानीय र प्रदेश सरकारले छुट्टै ‘स्पोर्ट्स डेस्क’ स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्काई डाइभ पाइलट यशोदा केसी थापाले नेपालमा स्काई डाइभिङको ठूलो सम्भावना भए पनि नीतिगत र कानुनी जटिलताले व्यवसाय सञ्चालन गर्न कठिन भएको बताइन् । विदेशबाट ल्याइने उपकरणमा चर्को कर र नागरिक उड्डयन प्राधिकरणबाट अल्पकालीन अनुमति मात्र दिइने अवस्थाले व्यवसाय विस्तारमा समस्या भएको उनको भनाइ थियो ।
उनले स्काई डाइभिङलाई प्याराग्लाइडिङजस्तै नियमित र सुरक्षित रूपमा सञ्चालन गर्न सकिए पोखरामा विदेशी पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने बताइन् ।
कार्यक्रमका प्रमुख वक्ता डा. उमेशसिंह यादवले गण्डकी प्रदेशमा खेल पर्यटनको सम्भावना, चुनौती र अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलको निष्कर्षमा वक्ताहरूले खेल पर्यटन विकासका लागि दीर्घकालीन सरकारी नीति, गुणस्तरीय भौतिक पूर्वाधार, सहुलियतपूर्ण यातायात तथा सरकारी र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।














प्रतिक्रिया लेख्नुहोस्:-