पोखरा, १६ वैशाख — ज्येष्ठ नागरिकका हकहित सुनिश्चित गर्न माग गर्दै ज्येष्ठ नागरिक सञ्जाल नेपालले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। सञ्जालले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ समक्ष विस्तृत मागपत्र बुझाउँदै ज्येष्ठ नागरिकमैत्री नीतिगत सुधार र तत्काल कार्यान्वयनको आवश्यकता औंल्याएको हो।
सञ्जालका अध्यक्ष कुसुम केशव पराजुली ले मन्त्री गुरुङलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै लामो समयदेखि नागरिकता, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेका असहाय, अशक्त तथा अपाङ्गता भएका ज्येष्ठ नागरिकको समस्या तत्काल समाधान गर्न माग गर्नुभयो।
ज्ञापनपत्रमा १५ वर्षदेखि नागरिकता विहीन अवस्थामा जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई राज्यको मूलधारमा ल्याउन विशेष पहल आवश्यक रहेको उल्लेख छ। साथै, पालिका तथा वडास्तरमै तालिमप्राप्त जनशक्तिमार्फत थेरापी, मनोपरामर्शसहितको एकीकृत जेरियाट्रिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने माग गरिएको छ।
सञ्जालले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरूलाई थप व्यवस्थित बनाउन, स्वयमसेवकलाई प्रोत्साहनस्वरूप वार्षिक तीर्थाटन कार्यक्रम सञ्चालन गर्न तथा निजी र सामुदायिक स्याहारगृहहरूलाई अनिवार्य मापदण्डभित्र ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।
विशेषगरी बुढ्यौलीसँगै देखिने अल्जाइमर र डिमेन्सियाजस्ता रोगको पहिचान र न्यूनीकरणका लागि प्रदेशस्तरबाट विशेषज्ञ सेवा विस्तार गर्दै प्रत्येक जिल्लामा कम्तीमा एक ‘अल्जाइमर स्क्रिनिङ’ कार्यक्रम सञ्चालन गर्न सञ्जालले माग गरेको छ।
घरपरिवारको सहारा नभएका तथा सम्पत्ति-विहीन ज्येष्ठ नागरिकको हेरचाह गरिरहेका संस्थाहरूलाई राज्यले जिम्मेवारीसहित बजेट व्यवस्था गर्नुपर्ने पनि मागपत्रमा उल्लेख छ। साथै, ज्येष्ठ नागरिकका नाममा भइरहेका अनियमितता, भ्रष्टाचार तथा व्यावसायिक शोषण नियन्त्रण गर्न कडा नियमन आवश्यक रहेको सञ्जालको जोड छ।
सञ्जालले “ज्ञान, सीप र अनुभव हस्तान्तरण” कार्यक्रममार्फत ज्येष्ठ नागरिक र युवा पुस्ताबीच सहकार्य बढाउन, साथै सक्रिय ज्येष्ठ नागरिक र गृहिणी महिलालाई उत्पादनमूलक काममा जोड्दै रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले प्रस्तुत मागप्रति आफू सकारात्मक रहेको जनाउँदै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मबहादुर गुरुङ, अधिवक्ता गीता लामिछाने, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुङ्गाना लगायत विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।














प्रतिक्रिया लेख्नुहोस्:-