मुम्बई — Italy फुटबलका लागि विश्वप्रसिद्ध राष्ट्र हो । चार पटकको विश्व फुटबल च्याम्पियन इटालीले अहिले भने क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालविरुद्ध १० विकेटको एकतर्फी जित निकाल्दै इटालीले नयाँ इतिहास रचेको हो ।
मुम्बईस्थित Wankhede Stadium मा बिहीबार भएको खेलमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १ सय २३ रनमै समेटियो । कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपालले प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न सकेन ।
जवाफमा इटालीका मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले आक्रामक सुरुआत गर्दै नेपाली बलरमाथि पूर्ण दबाब बनाए । उनीहरूले कुनै मौका नदिई १२.४ ओभरमै लक्ष्य पूरा गरे । क्लिन हिट र उत्कृष्ट टाइमिङका साथ खेलेका दुवैले नेपालका फिल्डरलाई एकपटक पनि अवसर दिएनन् ।
पहिलो पटक विश्वकप खेलिरहेको इटालीले एकतर्फी प्रदर्शन गर्दै नेपाललाई पूर्णतः दबाबमा राख्यो । पहिलो खेलमा England सँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपालले नेट रनरेट सुधार गर्ने लक्ष्य राखेको थियो । तर इटालीले ७ ओभर बाँकी छँदै खेल जित्दै समूह ‘सी’ मा इंग्ल्यान्डलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको छ ।
खेलपछि इटालीका ह्यारी मानेन्टीले भने, “विश्व वरीयतामा हामी २७औँ स्थानमा छौं, जबकि यस विश्वकपमा २० टोली खेलिरहेका छन् । नेपालमाथिको जितपछि हाम्रो वरीयता अझ माथि जान सक्छ ।”
यो हार ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटका आधारमा नेपालको सबैभन्दा ठूलो हार हो । यसअघि सेप्टेम्बरमा West Indies सँग शारजहाँमा पनि नेपाल १० विकेटले नै पराजित भएको थियो ।नेपाल विश्व वरीयतामा आफूभन्दा १० स्थान तलको टोलीसँग पराजित हुनु थप निराशाजनक बनेको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-