बन्दिपुर – आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट ‘चारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार विद्या ढकाल ले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
मंगलबार ढकालले बन्दिपुर गाउँपालिका का विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। विशेषगरी वडा नं. ५ र ६ का विभिन्न बस्तीमा पुगेर उनले स्थानीयसँग भेटघाट गर्दै मत मागेका हुन्। सो क्रममा स्थानीयका समस्या सुन्नुका साथै आफ्नो भावी योजना पनि सार्वजनिक गरेका थिए। भेटघाटका क्रममा उत्साहजनक साथ प्राप्त भएको ढकालले बताए।
मतदातासँगको अन्तरक्रियामा उनले नीतिगत सुधार, स्थानीय पूर्वाधार विकास र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन्। लामो समयदेखि अलपत्र अवस्थामा रहेको ‘घुमाउने पुल’ निर्माणलाई तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता उनले जनाए। साथै, प्राविधिक शिक्षाको विस्तार गर्दै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको बताए।
बन्दिपुरको पर्यटनलाई व्यावसायिक र व्यवस्थित बनाउँदै स्थानीयको आर्थिक अवस्था सुधार्ने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै ढकालले देशको समग्र विकासका लागि संसदमा प्रभावकारी नीतिगत हस्तक्षेप गर्ने प्रतिबद्धता व्यक्त गरे।
दिनभर बन्दिपुर क्षेत्रमा व्यस्त रहेका ढकालले जनताको आधारभूत आवश्यकता पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए। “हामी कुरा होइन, काममा विश्वास गर्छौं,” उनले भने, “यसपटक तनहुँ–१ का जनताले परिवर्तन खोजेका छन् र त्यसको संवाहक ‘चारा’ चिन्ह हुनेछ।”














प्रतिक्रिया लेख्नुहोस्:-